काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री पदका उम्मेदवार नैनसिंह महरले पार्टीभित्र पुस्तान्तरण, नवप्रवर्तन र नीतिगत रूपान्तरणलाई अघि बढाउने उद्देश्यले आफू नेतृत्वको प्रतिस्पर्धामा उत्रिएको बताएका छन्।
पार्टीको महाधिवेशन स्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै महरले पुरानो पुस्ताको अनुभव र नयाँ पुस्ताका आकांक्षालाई समेटेर काँग्रेसलाई बदलिँदो विश्व परिवेश अनुकूल अघि बढाउन आवश्यक रहेको बताए।
उनले ९० वर्ष नाघेका पुराना पुस्ताको अनुभवदेखि जेन जेड र अल्फा पुस्ताका अपेक्षासम्मलाई जोडेर पार्टीको संगठनात्मक तथा नीतिगत क्षमता विकास गर्नुपर्नेमा जोड दिए।
देश र काँग्रेस दुवै चुनौतीपूर्ण अवस्थामा रहेको उल्लेख गर्दै महरले विद्यमान समस्याको समाधानका लागि परम्परागत राजनीतिक अभ्यासमा परिवर्तन आवश्यक रहेको बताए। राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा पार्टीको भूमिका प्रभावकारी बनाउन नीतिगत सुधारलाई प्राथमिकता दिनुपर्ने उनको भनाइ छ।
महरले काँग्रेसलाई निर्वाचन जित्ने माध्यममा मात्र सीमित नराखी नागरिकका दैनिक समस्या र आवश्यकतासँग जोडिएको राजनीतिक संस्थाका रूपमा विकास गर्नुपर्ने धारणा राखे।
बदलिँदो विश्व परिवेशमा जलवायु परिवर्तन, नवप्रवर्तन, युवा रोजगारी र कृत्रिम बुद्धिमत्ता (एआई) जस्ता विषयलाई राजनीतिक दलहरूले प्राथमिकतामा राख्नुपर्ने उनको भनाइ छ।
नागरिक र राजनीतिक नेतृत्वबीच बढ्दै गएको दूरी घटाउनु अहिलेको प्रमुख आवश्यकता रहेको उल्लेख गर्दै उनले नागरिकमा देखिएको निराशा सम्बोधन गर्न र अर्थतन्त्रमा जनसहभागिता बढाउन काँग्रेसले पहल गर्नुपर्ने बताए।
पार्टी नेतृत्व चयनका विषयमा महरले योग्यता र क्षमतासँगै जनअपेक्षा तथा लोकप्रियतालाई पनि ध्यान दिनुपर्ने धारणा राखे। लोकतान्त्रिक प्रतिस्पर्धामा यी पक्षबीच सन्तुलन आवश्यक रहेको उनको भनाइ छ।
महामन्त्री पदको उम्मेदवारी फिर्ता लिने समयसीमा समाप्त भइसकेकाले अब कुनै प्रकारको दबाबको औचित्य नरहेको बताउँदै उनले स्वच्छ प्रतिस्पर्धाबाट नेतृत्व चयन हुने विश्वास व्यक्त गरे।
महाधिवेशनको मतदान प्रक्रियामा भएको ढिलाइबारे पनि महरले प्रतिक्रिया दिएका छन्। मतपत्र छपाइ र आन्तरिक व्यवस्थापनका केही प्राविधिक कामका कारण मतदान सुरु हुन ढिलाइ भएको उनको भनाइ छ।
निर्वाचन समितिको पछिल्लो निर्णयअनुसार निर्धारित समयमा मतदान सुरु हुने र महाधिवेशन प्रतिनिधिहरूले विवेकपूर्ण रूपमा नेतृत्व चयन गर्ने विश्वास उनले व्यक्त गरे।



