काठमाडौँ । बिहान झिसमिसेदेखि नै गोंगबु बसपार्कमा सुदूरपश्चिम र कर्णालीका लामो दूरीका टिकट काट्न सयौँ यात्रु लामवद्ध थिए । भीड व्यवस्थापन गर्न नागरिक सहायता कक्ष खटिए पनि झ्यालहरूमा टाँसिएको ‘नो अनलाइन, वान्ली क्यास’ को सूचनाले प्रविधिको युगमा यात्रुलाई पकेटमारी र नगद बोक्ने अतिरिक्त जोखिम थोपरेको छ । गोंगबुस्थित नयाँ बसपार्कमा पहिलो दिनको पहिलो दृश्य नै उत्साह र अनिश्चितताको समिश्रण थियो । राजधानीमा उच्च शिक्षा अध्ययनरत विद्यार्थी, निजी तथा सरकारी जागिरे र दैनिक ज्यालादारी गर्ने सर्वसाधारण बिहानको चिसो नभनी लाममा उभिएका थिए ।
रातो इँटाको पर्खालमा टाँसिएको ब्यानरमा विचिन्न स्थानको भाडादर तोकिएको छ । यद्यपि सूचनाको सबैभन्दा तल लेखिएको एउटा सानो वाक्यांशले यात्रुलाई झस्काउँछ– ‘नगदमा कारोबार गरिदिनुहोला ।’
वर्षभरिको परदेशको पसिना र व्यस्तता बिर्सेर गाउँ फर्किने उमंग त छ, तर लाइनमा ४ घण्टा उभिँदासम्म आफूले चाहेको दिनको सिट पाइन्छ कि पाइँदैन भन्ने ढुकढुकी प्रत्येक यात्रुको अनुहारमा प्रस्ट पढ्न सकिन्छ । बसपार्कको मुख्य टिकेटिङ हलमा पस्नेबित्तिकै रातो डिजिटल एलईडी बोर्डले यात्रुको ध्यान खिच्छ । त्यहाँ पोखरा, बागलुङ, बुर्तिबाङ, रुकुम, बेनी, दरबाङ, फलेबास, मुक्तिनाथ, नेपालगञ्ज, राजापुर, धनगढी, बझाङ र बाजुरा लगायतका दर्जनौँ गन्तव्यहरू निरन्तर स्क्रोल भइरहेका छन् ।
स्टीलको मजबुत ब्यारिकेडभित्र यात्रुहरू धैर्यतापूर्वक अघि बढिरहेका छन् । हलभित्रको यो व्यवस्थापनले बाहिरको जस्तो अस्तव्यस्ततालाई केही हदसम्म कम गरेको छ । काउन्टरका कर्मचारीहरू डेस्कटप मनिटरमा हेर्दै सिट खाली भए–नभएको जानकारी दिइरहेका छन् ।
सुदूरपश्चिम जाने यात्रुका लागि हवाई भाडा आकासिएको छ भने कर्णाली करिडोर र सुदूरपश्चिमका राजमार्गहरूको अनिश्चित अवस्थाले गर्दा भरपर्दो मानिएका एसी र डिलक्स गाडीहरूका सिट पहिलो दिन नै धेरै टिकट काटिसकिएको छ । आज नेपालमा साना चिया पसल, तरकारी पसलदेखि सपिङ मलसम्म क्युआर कोडबाटै कारोबार हुन्छ । तर राजधानीको मुटुमा रहेको अन्तर्राष्ट्रिय स्तरको भनिएको नयाँ बसपार्कमा एउटा टिकटको ३ देखि ५ हजार रुपैयाँ नगदै बुझाउनुपर्ने व्यवस्था किन ?
यात्रुहरूले गोजीमा मोटो रकम बोकेर हिँड्नुपर्दा पकेटमारहरूको जोखिम बढ्छ । अर्कोतर्फ, नगद कारोबारले राजश्व र लेखा प्रणालीलाई पारदर्शी नबनाउने पुरानै सिन्डिकेट सोचलाई मलजल गरिरहेको देखिन्छ । यद्यपि पछाडि सुरक्षाकर्मीको उपस्थिति देखिएकाले सुरक्षाको वातावरण भने बनाइएको छ । विद्यार्थीकाअनुसार कलेज र जागिरबाट फूलपाती (असोज २४) वा महाअष्टमीको अघिल्लो दिन मात्रै बिदा पाइन्छ ।
त्यसैले ती २–३ दिनका सिटहरू बुकिङ खुलेको केही मिनेटमै सकिने भय छ । लाइनमा साथीहरूसँग फोनमा गफिँदै वा पालो कहिले आउला भनी घडी हेर्दै उभिएका यी अनुहारहरूले देखाउँछन्: नेपालमा चाडपर्व भनेको परिवारसँगको पुनर्मिलनको सुखद पर्व मात्र होइन, घर पुग्न गरिने एउटा कडा परीक्षा पनि हो । ब्यानरमा तीन महत्त्वपूर्ण सर्तहरू प्रस्ट लेखिएका छन्: पहिलो, टिकट लिएपछि जाने ठाउँ, मिति र समय राम्ररी जाँच्नुपर्ने । दोस्रो, बस नम्बर थाहा पाउन बस छुट्ने दिनको आधा घण्टा अघि मात्र काउन्टर २२–२३ मा सम्पर्क गर्नुपर्ने । र तेस्रो, सबै यात्रु अनिवार्य बसपार्कबाट मात्र चढ्नुपर्ने । कलङ्की वा कोटेश्वरबाट बाटोमा गाडी कुर्ने पुरानो बानीले ट्राफिक जाम र सिट गडबडी हुने भएकाले बसपार्कलाई नै एकमात्र प्रस्थान बिन्दु बनाउन खोजिएको यो सकारात्मक प्रयास हो । तर बस नम्बर आधा घण्टा अगाडि मात्र दिने व्यवस्थाले यात्रुहरूमा अन्तिम क्षणसम्म अन्योल रहने समस्या भने यथावत छ ।
कर्मचारीहरूकाअनुसार शुक्रवारबाट शुरु भएको यो चटारो दसैँसम्म चल्छ । सीमित बस र सिट संख्या भएकाले यात्रुको रोजाइको अघिल्लो सिट मिलाउनु र प्रणालीमा दोहोरो बुकिङ हुन नदिनु उनीहरूका लागि चुनौतीपूर्ण कार्य हो ।



