हङकङ । चीनको राष्ट्रिय दिवसको अवसरमा अक्टोबर १ देखि ७ सम्म चलेको बिदाको अवधिमा हङकङले १६ लाखभन्दा बढी पर्यटकलाई स्वागत गरेको छ ।
सरकारी तथ्यांकअनुसार यो संख्या गत वर्षको तुलनामा उल्लेख्य रूपमा बढी छ र यसमा मुख्यतया चिनियाँ मुख्य भूमिबाट आएका पर्यटकहरूको वर्चश्व रहेको छ । हङकङ विशेष प्रशासनिक क्षेत्र सरकारद्वारा बिहीवार सार्वजनिक गरिएको विवरणअनुसार, सात दिनको बिदामा कुल १६ लाख पर्यटक हङकङ भित्रिएका छन् ।
जसमध्ये १४ लाख १० हजारभन्दा बढी पर्यटक मुख्य भूमि चीनबाट आएका हुन् । यो आँकडाले हङकङको पर्यटन क्षेत्रमा आएको उत्साहजनक सुधारलाई उजागर गरेको छ । हङकङका प्रशासनिक मुख्य सचिव चान क्वोक–कीले यस वर्षको बिदामा आयोजना गरिएका विभिन्न कार्यक्रमले
पर्यटकहरूलाई आकर्षित गर्न सफल भएको बताएका छन् ।
विशेषगरी, अक्टोबर १ मा आयोजित राष्ट्रिय दिवसको आतसबाजी प्रदर्शनमा ३ लाख ७८ हजारभन्दा बढी दर्शक सहभागी भएका थिए भने सोही दिन आयोजित ‘रेसडे’ मा झन्डै ३० हजार दर्शक पुगेका थिए ।
पर्यटकीय आकर्षणको केन्द्र बनेको भिक्टोरिया पार्कमा आयोजित मध्य–शरद ऋतु उत्सवले पनि पर्यटकहरूको ध्यान तानेको छ । सार्वजनिक उत्साहलाई मध्यनजर गर्दै उक्त उत्सवको अवधि दुई पटक थपिएको थियो, जसमा कूल ७ लाख ३० हजार मानिसले सहभागिता जनाएका थिए । विविध सांस्कृतिक र मनोरञ्जनात्मक कार्यक्रमहरूले यसपालिको राष्ट्रिय दिवसको बिदालाई निकै जीवन्त बनाएको छ ।



