नवलपुर । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को कावासोती नगरपालिका–६ माझटोलस्थित भित्री सडकखण्डमा अटो दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने चालकसहित सात जना घाइते भएका छन् ।
आज दिउँसो विष्णुनगरबाट कावासोतीतर्फ आउँदै गरेको ग.प्र ०४-००१ ह ०७०२ नम्बरको अटो अनियन्त्रित भई सडकको बायाँतर्फको नहरमा खसेर दुर्घटना भएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट–सुस्तापूर्व)का सूचना अधिकारी प्रहरी नायब उपरीक्षक अनिल पण्डितका अनुसार दुर्घटनामा परी गम्भीर घाइते भएकी कावासोती नगरपालिका-१ हात्तीखोरकी ४१ वर्षीया ईशा सुनारको उपचारका क्रममा भरतपुरस्थित सेन्ट्रल अस्पतालमा मृत्यु भएको हो ।
कावासोती-१ हात्तीखोरकी २३ वर्षीया निशा सुनार, ५० वर्षीया फूलमाया सुनार, १७ वर्षीया जमुना गाहामगर र २२ वर्षीय निर्मल गाहामगरको सेन्ट्रल अस्पताल र सामान्य घाइते भएका दुई जनाको भने कावासोतीस्थित नवलपुर अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी पण्डितले जानकारी दिएका छन् ।
दुर्घटनामा संलग्न अटो चालक कावासोती-१ हात्तीखोरका ४४ वर्षीय मानसिंह थापालाई नियन्त्रणमा लिइ थप अनुसन्धान अघि बढाएको प्रहरीले जनाएको छ ।



