चितवन । राइनो क्लब, नारायणगढले यही कात्तिक १४ मा ‘राइनो दौड प्रतियोगिता–२०८३’ आयोजना गर्ने भएको छ । पाँच किलोमिटर दूरीको दौड गैँडाकोटस्थित जयश्री पुलबाट सुरु भई नारायणगढको लीलाचोकमा पुगेर समापन हुने प्रतियोगिताका संयोजक महेश प्रधानले बताए।
उनका अनुसार प्रतियोगितामा महिला तथा पुरुष दुवै विधामा प्रतिस्पर्धा हुनेछ । दुवै विधाका विजेतालाई समान पुरस्कार प्रदान गरिने उनको भनाई छ । प्रतियोगितामा प्रथम हुनेले रु. १५ हजार, द्वितीय हुनेले रु. १० हजार र तृतीय हुनेले रु। पाँच हजार नगद पुरस्कारसहित ट्रफी र प्रमाणपत्र प्राप्त गरिने छ ।
त्यसैगरी, निर्धारित ३० मिनेटभित्र पाँच किलोमिटर दौड पूरा गर्ने सबै धावकलाई फिनिसर प्रमाणपत्र प्रदान गरिने प्रधानले बताए। ५० वर्षभन्दा माथिका भेट्रान धावकलाई समेत विशेष सम्मान गरिने प्रतियोगिताका सह–संयोजक रोहित श्रेष्ठले जानकारी दिए। प्रतियोगितामा सहभागी हुन १८ वर्ष उमेर पूरा भएका नेपाली नागरिकले नाम दर्ता गर्न सक्ने छन् । दर्ता शुल्क २०० रुपैयाँ तोकिएको छ ।
प्रतियोगिताका सल्लाहकार राजु श्रेष्ठले राइनो क्लबले विगतमा नारायणगढ तथा आसपासका क्षेत्रमा दौडलगायत विभिन्न खेलकुद गतिविधि सञ्चालन गर्दै आएको बताए। २०३७ सालदेखि सञ्चालन हुँदै आएको दौड प्रतियोगिताले विभिन्न कारणले निरन्तरता पाउन नसकेपछि यस वर्षदेखि पुनः सञ्चालन गर्न लागिएको उनको भनाइ छ ।



