काठमाडौँ । रौतहटको ईशनाथ नगरपालिकास्थित औरैया प्रसूति केन्द्र जलवायुजन्य विपद्का समयमा पनि मातृ तथा नवजात शिशु स्वास्थ्य सेवा निरन्तर सञ्चालन गर्न सकिने नमूना स्वास्थ्य संस्थाका रूपमा स्थापित भएको छ ।
जापान सरकारको आर्थिक सहयोगमा संयुक्त राष्ट्रसङ्घीय जनसङ्ख्या कोष (युएनएफपिए)द्वारा सञ्चालित परियोजनाअन्तर्गत केन्द्रमा विद्युत् ब्याकअप, पानी शुद्धीकरण, भेन्टिलेसन तथा चिकित्सकीय फोहोरमैला व्यवस्थापनलगायत पूर्वाधार सुधार गरिएको छ ।
केन्द्रमा आयोजित नीतिगत संवादमा संयुक्त राष्ट्रसङ्घकी नेपालस्थित आवासीय संयोजक लीला पिटर्स याहियाले साना लगानीबाट पनि ग्रामीण महिलाको मातृ स्वास्थ्य सेवामा पहुँच विस्तार गर्न सकिने बताए । योग्य स्वास्थ्यकर्मीको उपस्थितिले समुदायमा विश्वास बढाएको उनको भनाइ थियो ।
युएनएफपिएका उपप्रतिनिधि डा. वशिर नजिबले बाढीजस्ता विपद्का समयमा गर्भवती तथा नवजात शिशुको सुरक्षाका लागि जलवायु-उत्थानशील स्वास्थ्य पूर्वाधार आवश्यक रहेको उल्लेख गरेका छन् । नगरपालिकाकी उपप्रमुख कौशल्या देवीले स्वास्थ्य सेवा निरन्तरताका लागि तीनै तहका सरकारबीच समन्वय आवश्यक रहेको बताइन् ।
कार्यक्रममा युएनएफपिएले मधेस प्रदेश सरकारलाई करिब एक लाख अमेरिकी डलर मूल्यका जीवनरक्षक औषधि तथा उपकरण हस्तान्तरण गरेको थियो । ती सामग्री रौतहटका पाँच स्वास्थ्य संस्थामा वितरण गरिनेछ ।
सन् २०२५ देखि सञ्चालित परियोजनाले जलवायु जोखिममा रहेका रौतहट र जाजरकोटमा मातृ तथा बाल स्वास्थ्य सेवा सुदृढीकरणका लागि काम गरिरहेको छ ।



