दाङ । दाङको तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालमा सघन उपचार कक्ष (आइसियु) छैन । यसले गर्दा गम्भीर प्रकृतिका बिरामीलाई जिल्ला बाहिर रेफर गर्नुपर्ने अवस्था छ ।
लामो समयदेखि यसरी बिरामी रेफर गर्दा अस्पतालप्रति हेर्ने दृष्टिकोण नकारात्मक हुने गरेको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. मोहम्मद नुरुल होदाले बताए । “अस्पताललाई रेफर सेन्टर भनेर ब्यङ्ग्य गर्ने गरिन्छ”, उनले भने, “आइसियु नहुँदा यसरी बिरामी रेफर गर्नुपर्ने अवस्था छ ।”
अस्पतालमा सिटीस्क्यान सेवाको पनि अभाव छ । उक्त उपकरण बिग्रिएको दुई वर्षभन्दा बढी भइसकेको छ । तर, त्यसको मर्मत हुन सकेको छैन । मर्मत खर्च निकै महँगो भएकाले त्यो मेसिन मर्मत नहुँदा त्यो सेवा पनि प्रभावित रहेको मेसु डा. नोहाले जानकारी दिए ।
त्यस्तै हेमोडायलासिस सेवामा पनि चरम संकट देखिएको छ । अस्पतालसँग भएका १६ डायलासिस मेसिनमध्ये हाल नौ मात्र सञ्चालनमा छन् । बाँकी बिग्रिएका छन् । यसका कारण विपन्न परिवारका ९० जनाभन्दा बढी बिरामीले पालो कुरिरहेको उनले बताए । यी समस्याले गर्दा अस्पतालमा सेवा प्रभावमा केही असज भएको उनले बताए ।
अस्पताल विकास समितिका अध्यक्ष महेन्द्र लामिछानेले पनि डायलासिस सेवामा देखिएको समस्या समाधानका लागि थप पहल आवश्यक रहेको जानकारी दिए । हाल अस्पताल १४१ श्ययामा सञ्चालित भए पनि यसले सञ्चालनको अनुमति भने ५० शैय्याको छ ।



