काठमाडौँ । नेपाली साहित्यलाई अन्तर्राष्ट्रिय पाठकमाझ पुर्याउने सरकारी पहलअन्तर्गत नेपाली लेखकका छ वटा कृति चिनियाँ भाषामा अनुवाद गरी सार्वजनिक गरिएको छ। चीनको छेन्दुमा आयोजित तियान्फु पुस्तक प्रदर्शनीका अवसरमा अक्टोबर १६ मा ती पुस्तक लोकार्पण गरिएको हो।
लोकार्पण गरिएका कृतिमा महाकवि लक्ष्मीप्रसाद देवकोटाको ‘लक्ष्मी निबन्धसङ्ग्रह’, भीष्म उप्रेतीको ‘हिमालय, शेर्पा र यती’, ध्रुवचन्द्र गौतमको ‘अलिखित’, सरुभक्तको ‘चुली’, डा. राजु अधिकारीको ‘यस्तो होस् जीवनशैली’ र सुलोचनाको ‘जीवनबाट जीवन सिकौँ’ रहेका छन्।
नेपाल र चीन सरकारबीच सन् २०२३ सेप्टेम्बर २५ मा सम्पन्न द्विपक्षीय समझदारीअनुसार दुवै मुलुकका साहित्यिक तथा अन्य कृतिको अनुवाद र प्रकाशन गर्ने परियोजना अघि बढाइएको हो। समझदारीमा नेपालका २५ पुस्तक चिनियाँ भाषामा र चीनका २५ पुस्तक नेपाली भाषामा अनुवाद गरी प्रकाशन गर्ने व्यवस्था छ।
सोही परियोजनाअन्तर्गत नेपाली भाषाका छ कृति चिनियाँ पाठकमाझ पुर्याइएको हो। यस पहलले नेपाली साहित्यका विभिन्न विधा, सिर्जनात्मक अभिव्यक्ति, संस्कृति तथा जीवनदर्शनलाई चिनियाँ पाठकसँग परिचित गराउने अपेक्षा गरिएको छ।
दुई देशबीच पुस्तक अनुवाद तथा प्रकाशनको सहकार्यले साहित्यिक आदानप्रदानलाई संस्थागत रूपमा विस्तार गर्ने उद्देश्य राखेको छ। नेपाली कृतिको चिनियाँ भाषामा प्रकाशनले भाषागत सीमाका कारण अन्तर्राष्ट्रिय पाठकसम्म पुग्न नसकेका सिर्जनालाई नयाँ पाठकवर्गसँग जोड्ने अवसर प्रदान गर्नेछ।
सरकारले यस परियोजनामार्फत नेपाली पुस्तकको अन्तर्राष्ट्रिय पहुँच बढाउनुका साथै साहित्य र संस्कृतिका माध्यमबाट नेपाल-चीन सम्बन्धलाई थप सुदृढ बनाउने लक्ष्य लिएको छ।




