कञ्चनपुर । फूलखेतीमा सम्भावना देखेपछि कञ्चनपुरको भीमदत्त नगरपालिका-१५ का मेघा रावल पुष्प व्यवसायमा लागेकी छन् ।
आफ्नै चार कट्ठा जग्गामा उनले सयपत्रीका दुई हजार ४०० बोट फूल रोपेकी छन् । कृषि जेटिए अध्ययनपछि उनले फूलखेतीमा राम्रो सम्भावना देखेर यस व्यवसायमा लागेको बताइन् । ।
“तीनवर्षे कृषि जेटिए अध्ययनपछि आफ्नै ठाउँमा केही गर्नुपर्छ भन्ने सोचले फूलखेतीमा लागेँ”, रावलले भनिन्, “बजारमा फूलको माग र सम्भावना देखेर नै मलाई यसतर्फ आकर्षित गरेको हो ।”
तिहारलगायत चाडपर्वमा फूलको माग बढ्ने भएकाले पुष्प व्यवसायबाट राम्रो आम्दानी गर्न सकिने उनको अपेक्षा छ । “विभिन्न चाडपर्व र धार्मिक तथा सांस्कृतिक कार्यक्रममा फूलको माग बढिरहेको छ”, उनले भनिन् ।
उनले बाहिरबाट आयात गर्नुको साटो आफ्नै ठाउँमा उत्पादन गरेर आम्दानी गर्न सकिने बताइन् । पछिल्लो समय विभिन्न धार्मिक तथा सांस्कृतिक कार्यक्रम, विवाह र अन्य समारोहमा फूलको प्रयोग बढ्दै जाँदा स्थानीयस्तरमा उत्पादित फूलले बजार पाउन थालेको छ ।
परम्परागत खेतीभन्दा फूलखेतीमा दुई गुणा बढी आम्दानी हुने उनको भनाइ छ । “यसपटक फूलको माग र बजार हेरेर अर्को वर्ष फूलखेती विस्तार गर्ने योजना छ”, रावलले भनिन्, “आफूले सैद्धान्तिक रूपमा सिकेको सीप प्रयोगमा ल्याउने र आत्मनिर्भर बन्न खेतीले सहयोग गर्छ ।”




