काठमाडौँ । काठमाडौँको रत्नपार्कस्थित शान्तिवाटिकामा ‘काग सम्मेलन’ गरिएको छ ।
यमपञ्चकको पहिलो दिन काग तिहारका अवसरमा रत्नापार्कस्थित शान्तिवाटिकामा आज बिहान काग बोलाएर काग सम्मेलन गरिएको हो । सम्मेलनमा कलाकार रमेश दुलालले कागको स्वर निकालेर कागलाई एकै ठाउँमा जम्मा पारेका थिए । दुलालले कागको स्वर निकालेर बोलाएपछि कागहरू उनको आवाज भएको ठाउँसम्म आइपुगेका थिए । दुलालले विगत लामो समयदेखि काग तिहारका अवसरमा काग सम्मेलन गर्दै आएका छन् ।
काग तिहारको दिनमा यमराजको सन्देश वाहकको रूपमा कागलाई सम्मानको साथ पूजाआजा गरेर खानेकुरा दिने चलन रहेको छ । काग तिहारमा कागलाई मीठा मीठा खानेकुरा दिएमा राम्रो समाचार लगिदिने विश्वास गरिन्छ ।
यमपञ्चक ९तिहारको पाँच दिन० मा क्रमशः काग, कुकुर, गाई, गोरु र आफ्ना दाजुभाइको पूजा गरिन्छ । तिहार पर्व कात्तिक कृष्ण त्रयोदशीदेखि कात्तिक शुल्क द्वितीया तिथिसम्म गरी पाँच दिन मनाइन्छ । यसको सुरुवात कात्तिक कृष्ण त्रयोदशीको दिन मनाइने काग तिहारबाट हुन्छ । हिन्दु धर्मशास्त्रकाअनुसार यमलोकका अधिपति यमराजले पृथ्वी लोकका मानिसहरूको जन्म मृत्युको विवरण राख्ने गर्दछन् । त्यस्तो विवरण पृथ्वीलोकमा ल्याउने र लैजाने काम भने कागले गर्छ भन्ने धार्मिक मान्यता रहेको छ । आकाशबाट उडेर छिटो सन्देश ल्याउन लैजानसक्ने भएकाले यमराजले कागलाई आफ्नो दुत बनाएको धार्मिक विश्वास रहेको छ । त्यसैले काग तिहारको दिनमा कागलाई पूजाआजा गरेर मिठो खानेकुरा खान दिएमा यसले वर्षभर आफ्नो घरमा दु:खद् सन्देश ल्याउँदैन भन्ने विश्वास रहेको छ ।
यस्तै काग तिहारको दिन कागको पूजाआजा नगरेमा पापको भागी भइन्छ र मृत्युपछि नर्कमा पुगिन्छ भन्ने धार्मिक विश्वास रहेको छ । त्यसैले काग तिहारमा कागलाई घर आँगनमा बोलाई घरमा बनेका खाद्यान्न परिकार खान दिइन्छ । यस दिनमा बिहानैदेखि कागको पूजा गरिन्छ, घरबाहिर पात या दुना, टपरीमा विभिन्न खाना राखेर कागलाई खान दिइन्छ । कागको पूजाआजा गर्दै आउँदो वर्षभर कागले आफ्नो घरआँगनमा राम्रो र सुखद् खबरमात्रै ल्याओस् भनेर कामना गरिन्छ ।





