चितवन । चितवनका केही विद्यालयमा शैक्षिक गुणस्तर सुधारभन्दा भौतिक संरचना निर्माण तथा शिक्षक-कर्मचारीको नियुक्ति, सरुवा र बढुवाजस्ता विषयमा विद्यालय व्यवस्थापन समितिको ध्यान बढी केन्द्रित भएको पाइएको छ ।
विद्यालयको शैक्षिक अवस्था सुधार गर्ने उद्देश्यले शिक्षा विकास तथा समन्वय इकाईले पछिल्लो समय अनुगमनलाई तीव्रता दिएको छ ।
इकाईका प्रमुख कृष्णचन्द्र पोखरेलले गत भदौ २१ गते जिम्मेवारी सम्हालेपछि विद्यालय अनुगमन सुरु गरिएको बताए । उनका अनुसार विद्यालय व्यवस्थापन समितिका पदाधिकारीलाई आफ्नो जिम्मेवारी र कानुनले तोकेको कार्यक्षेत्रबारे अभिमुखीकरण गर्नुपर्ने आवश्यकता देखिएको छ ।
अनुगमनका क्रममा शिक्षक तथा प्रधानाध्यापकले कक्षाकोठाको शिक्षण अभ्यास अवलोकन गरी प्राविधिक सहयोग गर्न सुझाव दिएको पोखरेलले जानकारी दिए । त्यसका लागि विज्ञसहितको टोली बनाएर विद्यालय अनुगमन गर्ने तयारी गरिएको छ ।
‘अनुगमनका क्रममा धेरै शिक्षक तथा प्रधानाध्यापक उत्साहित हुनुभएको छ । विद्यालयमा देखिएका समस्या समाधानका लागि प्राविधिक सहयोग गर्न उहाँहरूले सुझाव दिनुभएको छ,’ उनले भने, ‘विशेषगरी कक्षाकोठा अवलोकन गरी शिक्षण सिकाइमा आवश्यक प्राविधिक सहयोग गर्नुपर्ने उहाँहरूको सुझाव छ ।’
अनुगमनको विवरण सम्बन्धित मन्त्रालय तथा विभागमा पठाइएको उनले बताए । विद्यालय अनुगमनमा स्थानीय तहसँग पनि समन्वय गरिएको छ । अनुगमनका क्रममा राजनीतिक हस्तक्षेपको अनुभूति नभएको उल्लेख गर्दै उनले शिक्षकहरूले अनुगमनलाई निरन्तरता दिन र विद्यालयका समस्या पहिचान गरी सुझाव दिन आग्रह गरेको बताए ।
अनुगमनलाई निरन्तरता दिनुपर्नेमा जोड दिँदै पोखरेलले आफूले थालेको कामलाई केही समयका लागि गरिएको देखावटी प्रयासका रूपमा व्याख्या गर्ने र नकारात्मक टिप्पणी गर्ने गरिएको गुनासो गरे । यस्ता टिप्पणीले काम गर्ने उत्साहमा असर पर्ने उनको भनाइ छ ।
चितवनमा सामुदायिक, संस्थागत र धार्मिक गरी ४९७ विद्यालय सञ्चालनमा छन् । इकाईका अनुसार जिल्लामा ३२५ सामुदायिक, १६५ संस्थागत र सात धार्मिक विद्यालय छन् ।
चितवन २०७१ सालमै साक्षर जिल्ला घोषणा भएको थियो । राष्ट्रिय जनगणना २०७८ अनुसार जिल्लाको साक्षरता दर ८३ दशमलव ६८ प्रतिशत छ ।





