काठमाडौँ । नेपालमा हाल पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार आज देशको हिमाली भू-भागमा आंशिक बदली रहनेछ भने बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने पूर्वानुमान गरिएको छ।
आज दिउँसो गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली र पहाडी भू-भाग तथा कोशी, बागमती र लुम्बिनी प्रदेशको हिमाली भू-भागमा आंशिक बादल लाग्ने र बाँकी भू-भागमा मौसम मूख्यतया सफा रहनेछ । कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली र पहाडी भू-भागका साथै कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भू-भागका एक-दुई स्थानमा हल्का वर्षा/हिमपातको सम्भावना छ।
यस्तै, आज राति पनि देशको हिमाली भू-भागमा आंशिक बदली रहने र बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने विभागले जनाएको छ। रातिको समयमा कोशी र गण्डकी प्रदेशका हिमाली भू-भागका एक-दुई स्थानमा हल्का वर्षा तथा हिमपात हुन सक्ने सम्भावना रहेको छ।





