काठमाडौँ । तनहुँको भानु नगरपालिका–७ बसन्तपुरस्थित थानीमाई मन्दिरमा कात्तिकको तेस्रो मङ्गलवार एकै दिन ९१ वटा फूलका डोली चढाइएका छन् ।
मन्दिर व्यवस्थापन समितिका अध्यक्ष जीवन थापाका अनुसार कात्तिकका दुई मङ्गलबारमा ९३ डोली चढाइएको छ भने १० हजारभन्दा बढी भक्तजनले दर्शन गरेका छन् । तिहारका कारण चौथो मङ्गलवार भने दुई वटा मात्रै डोली चढाइएको थियो ।
थानीमाई मन्दिरमा वैशाख, असोज, कात्तिक, मङ्सिर, माघ, फागुन र चैतका मङ्गलवार फूलको डोली चढाउने परम्परा छ । मनोकामना पूरा हुने धार्मिक विश्वासका साथ भक्तजन पञ्चेबाजासहित मन्दिर पुगेर तीन पटक परिक्रमा गर्छन् ।
समुद्री सतहबाट करिब एक हजार दुई सय मिटर उचाइमा रहेको मन्दिरबाट लिगलिगकोट, पालुङटार र राइनासकोटलगायत क्षेत्रको दृश्यावलोकन गर्न सकिन्छ ।
स्थानीय जनविश्वासअनुसार विसं १८२५ देखि यहाँ पूजाआजा हुँदै आएको मानिन्छ । विसं २०७२ को भूकम्पबाट क्षतिग्रस्त मन्दिर संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको १४ लाख र भेटीबाट सङ्कलित छ लाख रुपैयाँ गरी २० लाखको लागतमा पुनर्निर्माण गरिएको हो ।
यसले धार्मिक पर्यटन प्रवर्द्धनमा समेत सम्भावना बोकेको छ ।





