२८ कार्तिक २०८३, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मिथिलाको मौलिक लोकनाट्य सामा-चकेवा, जहाँ माटाका पात्र बोल्छन्

अ अ+ अ-

धनुषा । मिथिलाञ्चलका गाउँबस्तीमा साँझ पर्नासाथ हातमा रङ्गीचङ्गी माटाका आकृति राखिएको बाँसको डाला, त्यसमा बलिरहेको दियो र समूहमा गुञ्जिने लोकगीतले वातावरण नै उल्लासमय बन्छ ।

युवती तथा महिलाहरूको सामूहिक स्वरमा गुञ्जिने सामा–चकेवाका गीतले दाजुभाइप्रतिको माया, दिदीबहिनीबीचको आत्मीयता र पुस्तौँदेखि हस्तान्तरण हुँदै आएको मिथिलाको सांस्कृतिक परम्परालाई जीवन्त बनाउँछ ।

मिथिलाञ्चलमा छठ पर्वसँगै सुरु हुने सामा–चकेवा केवल मनोरञ्जन वा धार्मिक अनुष्ठान मात्र होइन, यो प्रेम, समर्पण, त्याग र पारिवारिक सम्बन्धको भावनात्मक अभिव्यक्ति पनि हो । माटोका विभिन्न आकृतिलाई पात्र बनाएर गीत र संवादमार्फत कथा प्रस्तुत गरिने यो परम्परा मिथिलाको विशिष्ट गीति लोकनाट्यका रूपमा परिचित छ ।

कार्तिक शुक्ल पञ्चमीदेखि सुरु हुने सामा–चकेवा पर्व पूर्णिमासम्म ११ दिन मनाइन्छ । यस अवधिमा मिथिलाञ्चलका दिदीबहिनी, छोरीबुहारी तथा महिलाहरू राति समूहमा भेला भएर सामा–चकेवा खेल्ने गर्छन् । उनीहरूले दाजुभाइको सुस्वास्थ्य, दीर्घायु, सुख, शान्ति र समृद्धिको कामना गर्दै परम्परागत गीत गाउँछन् ।

पर्वको पहिलो दिन महिलाहरूले दाजुभाइको हातबाट माटो खनेर ल्याउने परम्परा छ । त्यही माटोबाट सामा, चकेवा, चुगला, सतभइया, वनतितर, झाँझी कुकुरलगायत विभिन्न पात्रका आकृति बनाइन्छन् । माटाका ती आकृति सुकाएपछि विभिन्न रङले सजाएर बाँसको डालामा राखिन्छ । राति दियो बालेर ती आकृति गाउँका चौक, चौराहा, दोबाटो तथा सार्वजनिक स्थानमा लगिन्छन् । त्यसपछि सामूहिक रूपमा गीत गाउने, नाच्ने र माटाका पात्रलाई संवादमार्फत जीवन्त बनाउने गरिन्छ ।

मधेस प्रज्ञा–प्रतिष्ठानका अध्यक्ष तथा संस्कृतिविद् रामभरोस कापडीका अनुसार सामा–चकेवा पर्व दिदीबहिनीले दाजुभाइको दीर्घायु र समृद्धिका लागि गर्ने सांस्कृतिक अनुष्ठान हो । यसमा गीत, सङ्गीत, नाटकीय प्रस्तुति र लोकविश्वासको सुन्दर संयोजन रहेको छ ।

उनका अनुसार अन्य लोकनाट्यमा मानिसले पात्रका रूपमा अभिनय गर्छन् भने सामा–चकेवामा माटाका आकृतिलाई पात्र बनाएर महिलाहरूले गीत र संवादमार्फत कथा प्रस्तुत गर्छन् । यस क्रममा ‘गामके अधिकारी तोहे बरका भैया हो, भैया हातदश पोखरी खुनाई दिय, चम्पा फूल लगाइदिय’ र ‘सामचको सामचको अइहा हो, अइहा हो, गुँढ खेतमे भसिया हो’ जस्ता लोकगीत गाइन्छन् । यी गीतमा दाजुभाइप्रतिको माया, पारिवारिक सम्बन्ध, सामाजिक जीवन र प्रकृतिप्रतिको आत्मीयता अभिव्यक्त भएको पाइन्छ ।

माटाका पात्रमा जीवन्त हुन्छ लोकनाट्य
सामा–चकेवा पर्वको सबैभन्दा विशिष्ट पक्ष माटाका आकृतिमार्फत कथा प्रस्तुत गरिनु हो । यसमा सामा र चकेवा मुख्य पात्रका रूपमा रहन्छन् । सामा स्त्री पात्र र चकेवा पुरुष पात्र हुन् । यसबाहेक चुगला, ढोलिया, भरिया, सतभइया, खजंचिडैया, वनतितर, झाँझी कुकुर, भैया बटतकनी, मलिनियाँ र वृन्दावनजस्ता पात्र पनि बनाइन्छन् ।

यी पात्रले मिथिलाको सामाजिक, पारिवारिक तथा प्राकृतिक जीवनका विभिन्न पक्षलाई प्रतिनिधित्व गर्छन् । समाजमा चुक्ली गर्ने र सम्बन्ध बिगार्ने प्रवृत्तिलाई चुगलाले प्रतिनिधित्व गर्छ भने वृन्दावनले वन तथा प्रकृतिसँगको सम्बन्धलाई उजागर गर्छ ।

माटाका सबै आकृति एउटै डालामा राखेर महिलाहरूले गीत गाउँदै नचाउँछन् । गीतका शब्द र भावअनुसार पात्रहरूलाई चलायमान बनाइन्छ । कतिपय प्रसङ्गमा चुगलाको मुख आगोले पोल्ने र वृन्दावनमा आगो लगाउने अभिनयसमेत गरिन्छ । ‘वृन्दावनमे आगि लागल, केओ ने मिझाबे हे’ जस्ता गीतले लोकनाट्यलाई थप भावनात्मक बनाउँछन् । सामा–चकेवा माटाका मूर्तिको पूजा मात्र नभई गीत, अभिनय, संवाद र सामूहिक सहभागितामा आधारित मौलिक लोकनाट्य हो । महिलाहरू यसका कलाकार मात्र होइनन्, उनीहरू नै कथाका सूत्रधार र प्रस्तोता पनि हुन् ।

परम्परा र विधिविधान
सामा–चकेवा पर्वको सुरुआतसँगै माटाका विभिन्न पात्र बनाउने काम सुरु हुन्छ । चुगलाको आकृति बनाउन माटोको ढिस्कोसँगै सनपाट प्रयोग गरिन्छ, जसले पछि आगो लगाउन सहज बनाउँछ । त्यसैगरी वृन्दावन बनाउन सुकेको राडी घाँस बाँधेर आकृति तयार गरिन्छ । राति खाना खाइसकेपछि महिलाहरू तथा बालिकाहरू आ–आफ्नो घरबाट दियो बालिएको डाला लिएर निस्कन्छन् । उनीहरू समूहमा भेला भएर गीत गाउँदै सामा–चकेवालगायतका पात्रलाई दुबो टिपेर खान दिन्छन् । शीतलाई पानीको प्रतीक मानेर पात्रहरूलाई खुवाउने परम्परा पनि छ ।

त्यसपछि सबैले आफ्ना डाला गोलाकार रूपमा राखेर गीत गाउँदै वरिपरि घुम्छन् । गीतको क्रमसँगै विभिन्न पात्रको कथा प्रस्तुत गरिन्छ । चुगलाको मुख पोल्ने र वृन्दावनमा आगो लगाउने विधिले लोकनाट्यलाई थप रोचक बनाउँछ । यो क्रम पूर्णिमासम्म हरेक रात दोहोरिन्छ । क्षीरेश्वरनाथ नगरपालिका–५, महेन्द्रनगरका अवकाश प्राप्त शिक्षक तथा पुरोहित लालबाबु झाका अनुसार पर्वको अन्तिम दिन बिहानै माटाका आकृतिलाई पुनः रङरोगन गरी सुकाइन्छ । साँझपख दहीचिउरा खुवाएर सामा चकेवाबाट दाजुभाइको फार भराउने र दाजुभाइबाट सामा–चकेवाका आकृति फुटाउन लगाउने परम्परा छ ।

त्यसपछि दिदीबहिनीहरूले बाजागाजा र गीतनादसहित सामा–चकेवाका आकृतिलाई गाउँबाहिर खेत वा जलाशयमा लगेर विसर्जन गर्छन् । विसर्जनपछि दाजुभाइलाई दहीचिउरा तथा पकवान खुवाएर उनीहरूको दीर्घायु र समृद्धिको कामना गरिन्छ । यसरी पर्वको विधिवत् समापन हुन्छ । क्षीरेश्वरनाथ नगरपालिका–२ की ३२ वर्षीया अनिता यादवका अनुसार छठ पर्वको खरना विधि गरिने दिनदेखि नै सामा–चकेवाको तयारी सुरु हुन्छ । छठको तयारीसँगै महिलाहरूले सामा–चकेवाका लागि आवश्यक माटो, बाँसको डाला, रङ र अन्य सामग्रीको जोहो गर्छन् । उहाँका अनुसार सामा–चकेवा खेल्ने क्रममा गाउँका महिलाहरूबीच भेटघाट, सामूहिकता र आत्मीयता बढ्ने गरेको छ ।

पुराणसँग जोडिएको सामा–चकेवाको कथा
सामा–चकेवा पर्वको उत्पत्तिबारे विभिन्न धार्मिक तथा सांस्कृतिक मान्यता प्रचलित छन् । यसको चर्चा पद्मपुराण र स्कन्दपुराणमा समेत पाइने संस्कृतिविद्हरू बताउँछन् । मैथिली संस्कृतिका जानकार प्राध्यापक अरुण चौधरीका अनुसार प्रचलित पौराणिक कथाअनुसार सामा अर्थात् श्यामा भगवान् कृष्णकी छोरी थिइन् । उनका पति चारुवक्य थिए । उनीहरूबीचको प्रेम र सम्बन्धमा चुगलाले गलत सूचना दिएपछि विवाद उत्पन्न भएको थियो ।

कथाअनुसार चुगलाको कुरा सुनेर भगवान् कृष्णले आफ्नी छोरी श्यामालाई चराको रूप धारण गर्ने श्राप दिएका थिए । आफ्नी बहिनीको अवस्था थाहा पाएपछि उनका दाजु साम्बले बहिनीलाई पूर्ववत् अवस्थामा फर्काउन कठोर तपस्या गरे । उनको तपस्याबाट प्रसन्न भएर कार्तिक पूर्णिमाका दिन बहिनीले पुनः पुरानै स्वरूप प्राप्त गरेको धार्मिक मान्यता छ ।

पत्नी श्यामाको वियोग सहन नसकेर उनका पति चारुवक्य पनि चराको रूप धारण गरी उनीसँगै बस्न थालेको कथामा उल्लेख छ । उनीहरू बसेको वृन्दावनमा विरोधीहरूले आगो लगाएर दुःख दिने प्रयास गरे पनि दाजुको तपस्या र सहयोगबाट अन्ततः उनीहरू पुनः मानव रूपमा फर्किएको किंवदन्ती छ । यसरी सामा–चकेवाको मूल कथामा पति–पत्नीबीचको प्रेम, समर्पण र दाजुभाइको सहयोगको प्रसङ्ग जोडिएको पाइन्छ । कालान्तरमा मौखिक परम्परामार्फत कथाको स्वरूप परिवर्तन हुँदै जाँदा दाजुभाइ तथा दिदीबहिनीबीचको प्रेम र आत्मीयता नै यस पर्वको मुख्य भावका रूपमा स्थापित भएको संस्कृतिविद्हरूको भनाइ छ ।

लोकगीतमा प्रतिबिम्बित मिथिलाको जनजीवन
समाजशास्त्री पुनम चौधरी भन्छिन्, “सामा–चकेवा पर्वका गीतमा मिथिलाको सामाजिक जीवन, पारिवारिक सम्बन्ध, प्रकृति, प्रेम र मानवीय संवेदना प्रतिबिम्बित हुन्छन् । यी गीत पुस्तौँदेखि मौखिक रूपमा एक पुस्ताबाट अर्को पुस्तामा हस्तान्तरण हुँदै आएका छन् ।’’ महिलाहरू घरबाट सामा–चकेवाका आकृति राखिएको डाला बोकेर निस्कँदा गाउने गीतले पनि यस पर्वको सांस्कृतिक महत्त्व उजागर गर्छ ।

‘डालाले बहार भेली, बहिनो से फलाँ बहिनो’ जस्ता गीतमा दिदीबहिनीले आफ्नो डाला र त्यसमा राखिएका आकृतिको महत्त्व प्रस्तुत गर्छन् । गीतको संवादमा भाइले डाला हराएको गुनासो गर्ने र त्यसमा के–कस्ता सामग्री सजाइएको थियो भनेर सोध्ने प्रसङ्गसमेत आउँछ । यसले लोकगीतमा पारिवारिक संवाद र नाटकीयताको सुन्दर संयोजन रहेको देखाउँछ ।

पर्वको अन्तिम दिन सामा–चकेवा विसर्जन गरेर फर्किने क्रममा गाइने ‘समदाउनी’ गीत विशेष भावुक मानिन्छ । यस गीतमार्फत सामालाई अर्को वर्ष पुनः आउने निमन्त्रणा दिँदै बिदाइ गरिन्छ । यसले पर्वको समापनलाई समेत भावनात्मक र सांस्कृतिक महत्त्व प्रदान गर्छ । सामा–चकेवाका गीतमा जनकपुर र मिथिलाको सामाजिक तथा सांस्कृतिक जीवनका प्रसङ्ग पनि समेटिएका छन् । यसले मिथिलाको ऐतिहासिक पहिचान, स्थानीय जीवनशैली र लोकसंस्कृतिको समृद्धिलाई उजागर गर्छ ।

नयाँ पुस्तामा हस्तान्तरण गर्नुपर्ने सांस्कृतिक सम्पदा
मिथिलाञ्चलमा सामा–चकेवा पर्वले दाजुभाइ तथा दिदीबहिनीबीचको सम्बन्धलाई आत्मीय बनाउनुका साथै सामूहिकता, सहकार्य र सांस्कृतिक एकतालाई पनि बलियो बनाउँदै आएको छ । विशेषगरी महिलाहरूको सक्रिय सहभागितामा मनाइने यो पर्वले उनीहरूलाई आफ्नो कला, सिर्जनशीलता र सांस्कृतिक पहिचान प्रस्तुत गर्ने अवसर प्रदान गर्छ ।

क्षीरेश्वरनाथ नगरपालिका–२ की अनिता यादवका अनुसार सामा–चकेवा पर्वमा गाउँका महिला तथा किशोरीहरू एकै ठाउँमा भेला भएर गीत गाउने, माटाका आकृति बनाउने र परम्परागत विधि पूरा गर्ने गर्छन् । यसले नयाँ पुस्तालाई आफ्नो भाषा, लोकगीत र संस्कृतिबारे सिक्ने अवसरसमेत प्रदान गरेको छ । महोत्तरी, धनुषा, सर्लाही, सिरहा, सप्तरी, बारा र पर्सालगायत मधेसका जिल्लामा विशेष उत्साहका साथ मनाइने सामा–चकेवा सीमावर्ती भारतीय क्षेत्र बिहारका सीतामढी, मधुबनी, दरभङ्गा र मुजफ्फरपुरलगायत स्थानमा पनि लोकप्रिय छ ।

माटाका आकृति, बाँसको डाला, दियो, लोकगीत र सामूहिक नृत्यको माध्यमबाट प्रस्तुत हुने सामा–चकेवा मिथिलाको अमूर्त सांस्कृतिक सम्पदाको महत्वपूर्ण उदाहरण हो । यसले केवल दाजुभाइ र दिदीबहिनीबीचको सम्बन्धको कथा मात्र सुनाउँदैन, समाजमा प्रेम, सद्भाव, सहअस्तित्व र पारिवारिक एकताको सन्देशसमेत प्रवाह गर्छ ।

आधुनिकताको प्रभावसँगै परम्परागत लोकगीत र सांस्कृतिक अभ्यासहरू ओझेलमा पर्न सक्ने अवस्थामा सामा–चकेवाजस्ता पर्वको संरक्षण र प्रवर्द्धन आवश्यक देखिन्छ । विद्यालय, स्थानीय तह, सांस्कृतिक संस्था र नयाँ पुस्ताको सहभागितामार्फत यसको मौलिकता जोगाउन सके मिथिलाको पहिचान बोकेको यो विशिष्ट लोकनाट्य आगामी पुस्तासम्म जीवन्त रहन सक्ने उद्देश्य बोकेर पछिल्लो केही वर्षदेखि मैथिली विकास कोषले सामाचकेवा महोत्सव आयोजना गर्दै आएको छ ।

यस वर्ष पनि मङ्सिर ५ गते देखि जानकी मन्दिर प्राङ्गणमा सामाचकेवा प्रतियोगिताको आयोजना हुने कोषका अध्यक्ष जीवनाथ चौधरीले जानकारी दिए । कोषका अध्यक्ष चौधरीले सामा–चकेवा मिथिला संस्कृतिमा भाइबहिनीबीचको प्रेमलाई प्रगाढ बनाउने सांस्कृतिक रहेकोले यसलाई संरक्षण र संवर्द्धन गर्ने उद्देश्यले आफूहरूले महोत्सव आयोजना गर्दै आएको बताए ।

0 Comments