वासिङ्टन । अमेरिकाले शुक्रबार रोकिएका हवाई उडान फेरि सुरु गरेको छ। अधिकारीहरूका अनुसार हवाई सेवा अवरुद्ध हुनुको मुख्य कारण पुराना प्राविधिक उपकरणमा आएको समस्या हो । यसको साइबर आक्रमण वा माइक्रोसफ्टको विश्वव्यापी सेवा अवरोधसँग कुनै सम्बन्ध नरहेको स्पष्ट पारिएको छ ।
यातायातमन्त्री सीन डफीले शुक्रबार राति स्थानीय समयअनुसार ८:१५ बजे अमेरिकी हवाई क्षेत्र पुनः सञ्चालनमा आएको जानकारी दिए । यद्यपि उडान सेवा पूर्ण रूपमा सामान्य हुन केही समय लाग्ने उनले बताए।
डफीका अनुसार एयर ट्राफिक कन्ट्रोल प्रणालीका पुराना स्विच र राउटरमा अत्यधिक डाटा प्रवाह हुँदा उपकरणहरूले काम गर्न छाडेका थिए ।
घटनाभन्दा एक दिनअघि मात्रै अमेरिकी सरकारले हवाई ट्राफिक नियन्त्रण प्रणालीको आधुनिकीकरणका लागि संसद्सँग ३० अर्ब अमेरिकी डलर बजेट माग गरेको थियो ।
यसैबीच, होमल्यान्ड सेक्युरिटीमन्त्री मार्कवेन मुलिनले घटनामा साइबर आक्रमण भएको कुनै प्रमाण नरहेको बताए। उनले माइक्रोसफ्टको सेवा अवरोधसँग पनि यसको सम्बन्ध नरहेको स्पष्ट पारे ।
यद्यपि सुरक्षा निकायहरूले घटनाबारे थप अनुसन्धान गरिरहेको उनले जानकारी दिए। अधिकारीहरूले हवाई यात्रा सुरक्षित रहेको पनि आश्वस्त पारेका छन् ।





