काठमाडौँ । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेकी पत्नी निकिता पौडेलले जनकपुरधामस्थित गंगासागर पोखरीमा अस्ताउँदो सूर्यलाई अर्घ्य अर्पण गरेकी छन् ।
छठ पर्वको मुख्य दिन आइतबार जनकपुरधामसहित मिथिलाञ्चलका विभिन्न घाटमा श्रद्धालु भक्तजनले अस्ताउँदो सूर्यलाई अर्घ्य अर्पण गरिरहेका बेला पौडेल पनि गंगासागरस्थित छठ घाट पुगेर पूजा आराधनामा सहभागी भएकी हुन्।
यसअघि उनले छठ पर्वअन्तर्गत खरना विधिसमेत सम्पन्न गरेकी थिइन् । चतुर्थी तिथिदेखि धार्मिक विधिपूर्वक शुरु भएको चार दिने छठ महापर्वको मुख्य पूजा षष्ठी तिथिको साँझ सम्पन्न गरिएको हो । यस अवसरमा जनकपुरधामका गंगासागर, धनुष सागर, अरगज्जा, दशरथ तलाउलगायत मिथिलाञ्चलका विभिन्न पोखरी, नदी तथा जलाशयका घाटहरूमा श्रद्धालु भक्तजनको ठूलो भीड लागेको थियो । छठ पर्वका लागि व्रतालु तथा श्रद्धालुहरूले घरमै ठकुवा, भुसवा, खजुरिया, पेरुकियालगायत परम्परागत गुलियो परिकार तयार पारेका थिए । त्यस्तै फलफूल, मुला, गाजर, बेसारको गाँहो, भोगटे, ज्यामिर, नरिवल, सुन्तला र केरालगायत पूजाका सामग्री नाङ्लो, कोनिया, सरवा, ढकिया तथा माटाका भाँडामा सजाएर घाटसम्म पुर्याएका थिए ।
घाटहरूमा परम्परागत विधिअनुसार सूर्यदेव र छठी माताको पूजा आराधना गरिएको थियो । व्रतालुहरूले नदी तथा पोखरीमा उभिएर अस्ताउँदो सूर्यलाई अर्घ्य अर्पण गरेका थिए । छठका परम्परागत लोकगीत र भजनले जनकपुरधामसहित मिथिलाञ्चलको वातावरण भक्तिमय बनेको थियो । छठ पर्वमा आज साँझ अस्ताउँदो सूर्यलाई अर्घ अर्पण गरेपछि सोमवार बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएसँगै चार दिने महापर्व विधिवत् रूपमा सम्पन्न हुनेछ ।





