काठमाडौँ । वीरगन्जस्थित नेशनल मेडिकल कलेजका आन्दोलनरत रेजिडेन्ट चिकित्सक अध्ययन र काममा फर्किन सहमत भएका छन् । शिक्षा तथा खेलकुद मन्त्रालयको समन्वयमा मंगलबार सिंहदरबारमा कलेज व्यवस्थापन र विद्यार्थी प्रतिनिधिबीच भएको छलफलमा व्यवस्थापनले शैक्षिक वातावरण सुधार्ने प्रतिबद्धता जनाएपछि उनीहरू फर्किन तयार भएका हुन् ।
समझदारीअनुसार कलेजमै अध्ययन जारी राख्न चाहने विद्यार्थीका लागि आवश्यक शैक्षिक वातावरण मिलाइनेछ । अन्यत्र जान चाहने विद्यार्थीलाई रेजिडेन्सीबापतको रकम नियमानुसार फिर्ता गरिनेछ । आवश्यक परे समझदारीलाई लिखित सम्झौतामार्फत औपचारिकता दिने सहमति पनि भएको छ ।
पहिलो वर्षमा अध्ययनरत रेजिडेन्ट चिकित्सकहरूले कलेज व्यवस्थापनबाट मानसिक दबाब र दुर्व्यवहार भएको आरोप लगाउँदै आन्दोलन गर्दै आएका थिए । उनीहरूले छलफलमा अध्ययन र कामका क्रममा भोगेका समस्या मन्त्रालयका अधिकारीसमक्ष राख्दै मर्यादित शैक्षिक वातावरण सुनिश्चित गर्न माग गरेका थिए ।
त्रिभुवन विश्वविद्यालयको चिकित्साशास्त्र अध्ययन संस्थान (आईओएम) का डीन प्राडा मोहनराज शर्माले समझदारी कार्यान्वयन भए–नभएको विषयमा मन्त्रालय, चिकित्सा शिक्षा आयोग र आईओएमले चरणबद्ध अनुगमन गर्ने बताए ।
शिक्षामन्त्रीका प्रमुख सल्लाहकार शैलेन्द्र झाले शैक्षिक वातावरण सुधार्न कलेज व्यवस्थापन र विद्यार्थी दुवै जिम्मेवार हुनुपर्ने बताए । चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष प्रा. डा. देवेन्द्रबहादुर खत्रीले विद्यार्थीलाई अध्ययनमा फर्किन र व्यवस्थापनलाई त्यसका लागि आवश्यक वातावरण मिलाउन आग्रह गरे ।
कलेजका अध्यक्ष प्राडा जैनउद्दीन अन्सारीले विद्यार्थीका मागअनुसार शैक्षिक वातावरण सुधार्न व्यवस्थापन तयार रहेको बताए । छलफलपछि रेजिडेन्ट चिकित्सकहरूले समझदारीप्रति आशा व्यक्त गर्दै अध्ययन र काममा फर्किने प्रतिबद्धता जनाए ।





