पृष्ठभूमि
आर्थिक वृद्धि र विकासको सेरोफेरोमा विश्व घुमिरहेको छ । विकसित देशहरूको चुनौती आर्थिक वृद्धिको बढोत्तरी रहेको छ भने गरिब, अल्पविकसित तथा विकासोन्मुख देशहरूको चासो आर्थिक विकास रहेको छ । विकासलाई विभिन्न तरिकाले परिभाषा गरिएको भए पनि एआईको आजको युगमा हिजोको विकासको परिभाषाले समेट्छ भन्ने लाग्दैन । खाना, नाना र छानाको सुनिश्चितता भएको अवस्थालाई विकास भनिने अवस्थाबाट आजको अवस्थामा आउँदा विकासको परिभाषाले फड्को मारेको मात्रै होइन, रूप, रङ र सार नै फेरेको अनुभूति हुन्छ । खानाभित्र के खाने, कसरी खाने, किन खाने, कहाँ खाने, केका लागि खाने भन्ने विषयमा अनगिन्ती छनोट छन् । नानाभित्र के लगाउने, कसरी लगाउने, किन लगाउने, कहाँ लगाउने, केका लागि लगाउने भन्ने विषयमा अनेकौँ छनोट छन् । छानाभित्र केको छाना लगाउने, किन लगाउने, कसरी लगाउने, छानाभित्र खाना, नाना र भौतिक वस्तु के-कस्ता, कति र कहिले राख्ने भन्ने छनोट छन् ।
भौतिक विकास आजै गरेर त्यसको आनन्द र अनुभूति पनि अहिल्यै लिनुपर्छ भन्ने लहर एकातिर छ भने विकास अहिलेको आनन्द र अनुभूतिमा सीमित नरहेर भावी पुस्ताको आनन्द र अनुभूतिको समेत सुनिश्चितता गर्न सक्ने हुनुपर्छ भन्ने अर्को लहर रहेको छ । आजको र भावी पुस्ता दुवैको आनन्द र अनुभूति सुनिश्चित गर्ने विकासलाई संस्थागत गर्नुपर्ने आवश्यकता भने सबैले महसुस गरेको विषय बनेको छ । यस सन्दर्भ र आलोकमा नेपालको विकासका लागि आन्तरिकीकरण गर्नुपर्ने नौवटा विषयहरू उजागर गर्ने जमर्को यो आलेखमा गरिएको छ ।
विषय एक, अन्तर्राष्ट्रिय सिद्धान्तको नक्कल काम लागेन र लाग्दैन
नीति भनेको समाजलाई वाञ्छित दिशातर्फ लैजाने हेतु उच्च शिक्षा हासिल गरेका, उच्च तहमा रहेका, उच्च राजनीतिक चेत भएका, जान्ने, बुझ्ने, ज्ञान भएका प्रबुद्ध वर्ग (एलिट क्लास) हरूको बुद्धिविलासबाट निस्कने नौनी हो । प्रबुद्ध वर्गको राष्ट्रिय चिन्तन र बुद्धिविलासको क्षेत्र नीति हो । शासन, राजकाज र प्रशासन क्षेत्रका प्रबुद्ध वर्गहरूले नै समाजलाई गतिशील बनाउने क्षमता राख्दछन् ।
देश, काल, परिस्थिति, भूगोल, जनताको इच्छा र आकाङ्क्षा तथा राज्यको क्षमताको विश्लेषणका आधारमा गरिएको बुद्धिविलासबाट मात्रै नतिजामुखी नौनी निस्कने हो । हाम्रो प्रबुद्ध वर्गले देशको परिवेश र क्षमताबाहेक विश्वका सबै देशका सिद्धान्तका बारेमा बुद्धिविलास गर्यो, नौनी पनि निकाल्यो, तर उक्त नौनी कार्यान्वयन हुन नसक्ने पुस्तकको रूपमा मात्रै सीमित रह्यो । साहित्यिक शैलीका नीति पुस्तकमा परिणत भएर पुस्तकालयको शोभा बढाए ।
बुद्धिविलासबाट देशको भूगोल जटिल भएको निष्कर्ष निकालियो । जटिल भूगोल निष्कर्ष थिएन । जटिल भूगोल यथार्थ थियो । जटिल भूगोलका लागि उपयुक्त नीति निकाल्नु चाहिँ निष्कर्ष थियो । निष्कर्ष नै समाधानमुखी नभएपछि प्रतिफल अपेक्षित आउँदैन, आएन । हामी चुकेको विषय र क्षेत्र नै यही हो भन्ने लाग्छ ।
भूगोल, नागरिक र राज्यको क्षमतातिर फिरेर, हेरेर, घुमेर, देखेर र अनुभव गरेर चिन्तन गर्ने शैलीमा फिर्किनुपर्छ । विदेशी भूगोल र परिवेशमा प्रयोग भएका नीति र सिद्धान्तको विश्लेषणबाट नेपाली भूगोल र परिवेशको सम्पूर्ण समाधान निकाल्न खोज्नु गलत नै नभए पनि वास्तविक थिएन भन्ने कुरालाई अब पनि आन्तरिकीकरण गर्न सकिएन भने प्रबुद्ध जीवन सार्थक बनाउन सकिँदैन । प्रबुद्ध जीवन सार्थक बनाउने दिशा अपनाउनु अत्यन्त जरुरी भएको छ ।
विषय दुई, स्वदेशी अक्कल सदुपयोग भएन
वैश्विक परिवेशलाई नियालेर हेर्दा जमिनलाई उत्पादनको साधनका रूपमा प्रयोग गर्न नसक्ने देश समृद्ध भएको छैन । भूगोलका आधारमा धेरै साना र टापुहरूका देशबाहेक सबै देशहरूको विकासको मुख्य आधार नै जमिनको उत्पादकत्व हो । उत्पादकत्वमा बढोत्तरी गरेर औद्योगिकीकरण गर्दै सेवा क्षेत्रमा प्रवेश गरेको देखिन्छ । यो विकासको बाटो दिगो भएको देखिन्छ ।
नेपाल कृषि प्रणालीका लागि निकै ऊर्जाशील र उत्पादनशील वातावरण भएको देश हो । नेपालको कृषि प्रणालीमा बिउ, उत्पादन प्रणाली र उत्पादनका तौरतरिका भिन्न खालका थिए र छन् । नेपालको हावापानीमा उत्पादन भएका कृषि उपजहरूको स्वाद फरक किसिमको पाउन सकिन्छ ।
स्वादले नै विश्व बजारमा आफ्नो उपस्थिति बनाउन र टिक्न सजिलो हुने सम्भावना जीवित छ । कृषि प्रणालीमा भएको मौलिक ज्ञान, सीप र प्रविधिमा अलिकति प्राविधिक प्रणाली जोडिदिन सकेको खण्डमा उत्पादन विश्व बजारको रोजाइको बन्न सक्छ ।
जडीबुटीको विविधता अरू कुनै देशमा पाउन सकिँदैन । जडीबुटीहरूमा पाउन सकिने औषधीय गुण विचित्रको छ । आफ्नै विशिष्ट प्रणाली बोकेर उत्पादित वस्तुमा विशिष्ट गुण हुने भएकाले त्यसतर्फ ध्यान दिनुपर्छ । हराएर बिलाउन लागेको स्वदेशी उत्पादन प्रणालीको अक्कल फिराएर ल्याई विश्व बजारको नक्कल छाड्ने वा सीमित गर्न सक्ने नीति अवलम्बन गर्नु जरुरी छ ।
विषय तीन, कार्यपालिका मुख्य अभिनेता हो
नीतिहरूको मूल नीति राजनीति हो । राजनीतिक व्यक्तिहरूले नेतृत्व दिने निकाय कार्यपालिका हो । राज्यका तीन अङ्ग हुन्छन्, तर तिनै अङ्गलाई जीवन्त बनाउने मुख्य अभिनेता कार्यपालिका नै हो । देशलाई वाञ्छित दिशामा लैजाने नीति निर्माण गर्ने र कार्यान्वयन गर्ने निकाय हो ।
नागरिकहरूको मतले चुनिएर आएको निकाय व्यवस्थापिका र व्यवस्थापिकाले बनाएको कार्यपालिका भएकाले नागरिकसमक्ष गरेका वाचा पूरा गर्ने कर्तव्य र दायित्व कार्यपालिकाको हुन्छ । नागरिकसँग गरेका वाचा पूरा नगरे अर्को पटक नागरिकसमक्ष जाँदा हराउँछन् भन्ने सिद्धान्त पुरानो भयो, किनकि उक्त अवधिमा नागरिकले नपाएको लोकतान्त्रिक लाभको क्षतिपूर्ति कसले दिने ? जीवन सहज नभएको क्षतिपूर्ति कति हो ? जस्ता प्रश्न उठेका छन् ।
मूल नीति नागरिकमैत्री बनाई नतिजामुखी कार्यान्वयनबाट सबै नागरिकको हातमा लोकतान्त्रिक लाभ पुर्याउने महत्त्वपूर्ण जिम्मेवारी कार्यपालिकाकै हो र हुन्छ । यो दिशामा तन, मन र धन लगाउनुपर्ने जिम्मेवारी कार्यपालिकीय निकायमा बस्ने पदाधिकारीहरूको हो । त्यस्ता पदाधिकारीहरूलाई कसैलाई दोष देखाएर उम्कने वा भाग्ने छुट हुँदैन ।
हामी केही बरालिएको अवस्थामा छौँ । लयमा फिर्नुपर्छ । लयमा फिराउन सकिँदैन कि भनेर सोच्नु पनि हुँदैन । सबै नागरिकलाई एकढिक्का बनाएर लयमा ल्याउँछौँ भन्ने अठोट लिएर कार्यपालिका र अन्तर्गतका पदाधिकारीहरू अगाडि बढ्ने र नागरिकले हातेमालो गर्ने प्रणालीको विकास अत्यन्त जरुरी भएको छ ।
विषय चार, व्यवस्थापिकाले कार्यपालिकालाई दिशान्तर हुन दिनु हुँदैन
बरालिएको नीतिगत गतिलाई फिराएर, सोझ्याएर अपेक्षित लयमा फिराउने काम व्यवस्थापिकाको हो । व्यवस्थापिकाको मुख्य काम कानुन निर्माण हो । नीति विश्लेषण र मूल्याङ्कन हो । नीति पृष्ठपोषणका आधारमा कानुन परिमार्जन हो । नीतिले नसमेटेका, नीतिले छोडेका, नीतिको छायामा परेका, नीतिले नदेखेका नागरिकहरूलाई नीतिको मूलधारमा ल्याउन सक्ने गरी कानुन निर्माण र संशोधन हो ।
नागरिकका आवाज सुन्ने, त्यसैमा घोत्लिने, विकल्प सोच्ने, विकल्पको लेखाजोखासहित उपयुक्त नीति निकाल्ने हो । कार्यपालिकाको कामको अनुगमन, मूल्याङ्कन र विश्लेषण गरी कानुनमार्फत सही दिशामा ल्याउने हो । साना खुद्रे योजनाको चिर्कटो बोकेर मन्त्री र सचिवको कोठाकोठा कुद्ने, प्रशासकहरूलाई तथानाम गाली गर्ने, सामाजिक सञ्जालमा रुने, कराउनेलगायतका झिनामसिना कार्य विधायकका कार्यहरू होइनन् । विधायकले नागरिकका सबै समस्याको समाधान दिन सक्ने सञ्जीवनी कानुनको खोजी गर्नुपर्छ ।
हाम्रो संसदीय इतिहासमा सञ्जीवनीको खोजीमा हामी खरो उत्रन नसकेको अनुभूति नागरिकले गरेको छैन भन्न सकिँदैन । युवा सांसदहरू भएको यो ऐतिहासिक जनमतयुक्त संसद्ले पनि सञ्जीवनी कानुन दिन सकेन भने नेपाली नागरिकहरूको भावी जीवन नारकीय हुनेछ । नारकीय जीवनमा पुग्ने अवस्था आउन नदिई स्वर्गीय जीवनतर्फ डोर्याउन सक्ने कानुन निर्माण गर्ने र कार्यान्वयन गराउने भूमिका व्यवस्थापिकाको भएकाले अब व्यवस्थापिकालाई भूमिकाबाट विचलित हुने कुनै छुट छैन ।
विषय पाँच, न्यायपालिका विकासको बाधक होइन
संविधान र कानुनले सिर्जना गरिदिएका नागरिकका अधिकार नागरिकले प्रयोग गर्ने क्रममा कार्यपालिकीय अङ्गहरूबाट हस्तक्षेप भएको वा रोकावट भएको वा बाधा–अड्चन खडा गरिएको अवस्थामा त्यस्ता हस्तक्षेप, रोकावट वा बाधा-अड्चन हटाई अधिकारको प्रयोग नागरिकले निर्वाध रूपमा गर्ने वातावरण बनाउने कार्य न्यायपालिकाको हो ।
न्यायपालिकाले अधिकार प्रचलन गराउने सन्दर्भमा संविधान, प्रचलित कानुन, राज्यले अन्तर्राष्ट्रिय स्तरमा जनाएका प्रतिबद्धता तथा गरेका सन्धि–सम्झौता, नागरिकसमक्ष गरेका वाचालगायतका संयन्त्रहरूको अधीनमा आदेश वा फैसला गर्ने हो । अदालतबाट भएको आदेश वा फैसला कार्यान्वयन गर्न नसक्ने किसिमको भयो भन्ने कथनको समाधान न्यायपालिकीय संयन्त्रमा नभई आदेश वा फैसला गर्ने आधारहरूमा छ भन्न सकिन्छ । आधारहरूको विश्लेषण गरी संशोधन गर्ने र समसामयिक बनाउने कार्य व्यवस्थापिका र न्यायपालिकाकै हो । न्यायपालिकाको स्थापना र सीमित गर्न सक्ने क्षमता पनि व्यवस्थापिकामा रहने भएकाले यस सन्दर्भमा न्यायपालिका विकासको बाधक होइन । समाधान विधि, पद्धति र सिद्धान्तबाट खोजौँ, आरोप–प्रत्यारोपबाट होइन । यही कार्य, बानी र वातावरणको सिर्जना गर्ने दिशामा लागौँ ।
न्यायपालिकाको स्थापना र सीमित गर्ने क्षमता व्यवस्थापिकासँग भए पनि कार्यपालिकाले कानुनको कार्यान्वयन गर्ने–गराउने क्रममा नागरिकको अधिकार कुण्ठित गरेको रहेछ तथा व्यवस्थापिकाले संविधानको मर्म र भावनाविपरीत गएर विधि निर्माण गरेको रहेछ भने न्यायपालिकाले नागरिकको अधिकार प्रचलन गराउने र विधिलाई संवैधानिक लिकमा ल्याउने काम गर्छ । न्यायपालिकाविनाको शासन प्रणालीको परिकल्पना गरिएको हुँदैन ।
न्यायपालिकाले शासकीय पद्धति र प्रणालीमा हस्तक्षेप गर्ने नभई शासकीय अभ्यास, गतिविधि र कार्यप्रक्रियालाई संविधान र कानुनको कसीमा जाँची नागरिकमैत्री बनाउने हो । कार्यपालिका र व्यवस्थापिका दुवै अङ्ग संविधान र कानुनका पालक हुँदै नागरिक अधिकारमैत्री भएको खण्डमा न्यायपालिकाको काम हेरेर बस्ने (वाचडग) हुन्छ । न्यायपालिकाको भूमिका जति कम, उति शासकीय प्रणाली अब्बल हुन्छ भन्ने मान्यता रहेको छ ।
विषय छ, व्यक्ति, परिवार र समाज नै राष्ट्र निर्माणको आधार हो
राष्ट्र निर्माण गर्ने दिशामा सबै नागरिकलाई समाहित गराउने कार्य राज्यको हो । हरेक व्यक्तिको प्रयास आफ्ना लागि उपयुक्त विकल्प र वातावरण बनाउने हुन्छ । त्यस्तो विकल्प र वातावरणले उसको परिवारमा प्रभाव पारेको हुन्छ । परिवारको प्रभाव समुदायमा परेको हुन्छ । समुदायको प्रभाव राज्यमा परेको हुन्छ । यदि व्यक्तिगत प्रयासलाई सही दिशानिर्देश गर्न सकियो भने परिवार, समुदाय, समाज हुँदै राज्यको समृद्धि सहज हुन्छ ।
राज्य समृद्ध भए र देखिए पनि समाज, समुदाय र व्यक्ति गरिब भएका उदाहरणहरू विश्व शासकीय मञ्चमा स्पष्ट देख्न सकिन्छ । अबको हाम्रो शासकीय दृष्टिकोण नागरिक समृद्ध बनाउने हुनुपर्छ । सबै नागरिक समृद्ध बनाउन सके देश समृद्ध हुन्छ । नागरिक समृद्ध बनाउने मुख्य दायित्व सरकारको हो भने सरकार भनेको व्यक्ति, नागरिक, परिवार, समुदाय र समाजको एकीकृत स्वरूप हो । सरकारले वातावरण निर्माण गर्ने र निर्मित वातावरणको उपयोग गरी समृद्ध बन्ने दिशामा नागरिक लाग्ने र लगाउने विकल्पले मात्रै समृद्धि सम्भव छ ।
विषय सात, आफ्नो प्रणालीको समस्या आफ्नै प्रणालीबाट खोजेर आफ्नै क्षमता र आफ्नै स्रोतको प्रयोग गरी आफैँ योजना तर्जुमा गरी आफैँले कार्यान्वयन गर्नुपर्छ
नेपाल भौगोलिक जटिलता भएको देश हो । भौगोलिक जटिलता समस्या होइन । भौगोलिक परिस्थितिअनुकूल विकास नीति बनाउन र कार्यान्वयन गर्न नसक्नु चाहिँ समस्या हो । समस्याको समाधान आफ्नै भूगोलमा छ । समाधान गर्ने तौरतरिका आफ्नै भूगोलमा खोज्नुपर्छ । आवश्यक ज्ञान, सीप र कौशल तथा प्रविधि भूगोलभित्रबाट नै खोज्नुपर्छ ।
स्रोतको पर्याप्तता कसैलाई हुँदैन । स्रोत प्राथमिकताका आधारमा लगानी गर्ने कौशल भएमा नपुग, अपुग हुने सम्भावना रहँदैन । प्राथमिकता धेरै छन्, तर प्राथमिकताहरूको प्राथमिकीकरण चाहिँ समस्या हो । प्राथमिकीकरण गरेर सुरक्षा र नाफाको सुनिश्चितता गर्ने बानी र वातावरण बनाएर अगाडि बढेको खण्डमा नेपालले लगानी खोज्न जानुपर्दैन, लगानी आफैँ आउँछ । आउने लगानीले आवश्यक प्रविधि बोकेर आउँछ । प्रविधिले भौगोलिक विकटतालाई अवसरमा परिणत गर्छ ।
विषय आठ, इतिहासलाई गाली गरेर समाधान निस्कँदैन, पाठ सिकेर अगाडि बढ्नुपर्छ
बुढाले केही गरेनन्, तपाईंहरूले के गर्नुभयो भनेर विगतलाई लल्कार्दै गर्दा आफूले विगतलाई आफैँले लल्कार्ने बनाउन खेलेको भूमिका पनि बिर्सनु हुँदैन । उमेर ४० पुग्दै गर्दा नागरिकता हातमा लिएको २४ वर्ष हुन्छ भने नेपालको कानुनअनुसार मताधिकार प्रयोग गर्ने उमेर पुगेको २२ वर्ष हुन्छ । नागरिक भएको २४ वर्ष बितुन्जेल परिवार, समुदाय र समाज निर्माणमा आफ्नो भूमिकाको पनि विश्लेषण गर्नुपर्छ ।
जन्मेको, हुर्केको, पढेको, बढेको समाज र त्यही समाजका पात्रलाई त्यही समाजकै पात्रले गाली गर्नु नैतिकतायुक्त व्यवहार होइन । नागरिक भएको २४ वर्षमा समाजमा सिकेका, बुझेका, गरेका, नगरेका, राम्रा, नराम्रा अनुभवहरूको चाङबाट सही र उपयुक्त विकल्पहरूको छनोट गरी समृद्ध नेपाल बनाउने अवसर आफ्नो हातमा आएको बेला इतिहासलाई गाली गरेर समय बिताउनु बेकार छ । इतिहासलाई सिकाइ र अनुभवको आधार बनाएर अगाडि बढ्नुपर्छ ।
विषय नौ, नागरिक सहभागिताविना विकास सम्भव छैन
राज्य एक्लैले विकासको माग पूरा गर्न सक्दैन । नागरिक सहभागिताविना प्रतिफलको सम्भावना छैन । नुनको आवश्यकता सुनले पूरा गर्न सकिँदैन । सुन बेचेर नुन किन्छन्, सुन देऊ भन्ने तर्क निर्गतिलो हो । समाधान स्थायी, दिगो र अपनत्व लिने किसिमको हुनुपर्छ ।
राज्यको प्राथमिकताका योजना, परियोजना नागरिकको प्राथमिकताका नहुन सक्छन् । नागरिकको प्राथमिकताको योजना मात्रै उपयुक्त हुन्छ । नागरिकको क्षमता, दक्षता, योग्यता र आवश्यकताअनुसारको योजना पहिचान, छनोट र कार्यान्वयन नै नागरिक सहभागिता बढाउने, अपनत्वको भावना सिर्जना गराउने, जनविश्वास हासिल गर्ने उचित र उपयुक्त समाधान हो । यो बाटोमा जनसहभागिताको कुनै बाधा र अड्चन हुँदैन । बाधा र अड्चनरहितको बाटोतिर लम्कनु निर्विकल्प देखिन्छ ।
निष्कर्ष
आफ्नो र आफ्नै बुद्धि, विवेक र ज्ञानमा आधारित उत्पादन प्रणाली, त्यस्तो उत्पादन प्रणालीको आधुनिकीकरण, आधुनिकीकरणबाट औद्योगिकीकरणमार्फत सेवा क्षेत्रमा प्रवेश गर्न सकेको आर्थिक प्रणाली मात्रै दिगो हुन्छ । दिगो आर्थिक प्रणालीतर्फको यात्राबाट हामी टाढिनु नै विकासको बाधक हो । बाधक पहिचान भएर पनि समाधानतर्फ लागिएन भने धनी देशको गरिब पुस्ता भएर इहलीला समाप्त हुनेछ । धनी देशको धनी पुस्ता भएर भविष्यसमेत सुनिश्चित गरिदिने अवसरबाट पछि हट्नु हुँदैन ।






