डोल्पा । मुड्केचुला गाउँपालिका–१ स्थित काशिल खोलामा शनिबार दिउँसो आएको बाढीले एक जनाको मृत्यु भएको छ भने १० जना बेपत्ता भएका छन्।
दिउँसो गएको बाढीले उनीहरुलाई बगाएको प्रहरीले बताएको छ। ती मध्ये घट्ट पिस्न आएका बालबालिकाहरु धेरै रहेका छन् । सदरमुकाम दुनैबाट करिब ४५ कोष टाढापर्ने काशिल खोलामा आएको बाढीमा परेर ४३ वर्षीय धर्मराज बोहोरोको च्यापियर मृत्यु भएको प्रहरीले जनाएको छ ।
बाढीमा परी बेपत्ता हुनेमा वडा नम्बर १ का १२ वर्षीया धनरुपा बोहोरा, १२ वर्षीया सरिका बोहोरा, वर्षीया बृहष्पति बोहोरा, १३ वर्षीया सुना सार्की, २३ वर्षीय पञ्चे सार्की, २३ वर्षीया साउनी बिक र रंगी बोहोरा, कालीबहादुर बोहोरा, लभकुमार रोकाय र नाम नखुलेको एकजना बच्चासहित १० जना बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय डोल्पाले जनाएको छ । कालीबहादुर सिँचाइ आयोजनाको १५ लाख रुपैयाँ लिएर गाउँतर्फ जाँदै गर्दा बाढीमा परेर बेपत्ता भएको बताइएको छ।
बाढीमा अझै धेरै हराइरहेको अनुमान प्रहरीको छ। सदरमुकाम दुनैबाट प्रमुख जिल्ला अधिकारी मुकेशकुमार केशरी र प्रहरी नायब उपरीक्षक अभदेश विष्टको नेतृत्वमा नेपाली सेना, प्रहरी र सशत्र प्रहरीको ३५ जनाको टोली शनिबार बेलुकी नै घटनास्थलतर्फ हिँडिसकेको छ।
बाढीले दश वटा पानीघट्ट र काशिल लघु जलविद्युत आयोजनाको पाइपलाइन बगाएको बताइएको छ। घटनामा पर्नेहरुको उद्धार र राहतका लागि हेलिकोप्टरको व्यवस्था गर्न कर्णाली प्रदेश सरकारसँग पहल गरिएको छ ।







