काठमाडौँ । सर्वोच्च अदालतको न्यायाधीश नियुक्तिका लागि सिफारिस भएका चारै जनाको नाम संसदीय सुनुवाइ समितिले सर्वसम्मत रूपमा अनुमोदन गरेको छ ।
शनिबार सिंहदरबारमा बसेको समितिको बैठकले उच्च अदालत पोखराका मुख्य न्यायाधीश डा। रत्नबहादुर बागचन्द तथा उच्च अदालतका न्यायाधीशहरू चन्द्रबहादुर सारू, जनक पाण्डे र गोकर्ण डाँगीको नाम अनुमोदन गरेको हो ।
न्यायपरिषद्ले गत असोज २० गते उनीहरूलाई सर्वोच्च अदालतको न्यायाधीश नियुक्तिका लागि सिफारिस गरेको थियो । सिफारिसपछि संसदीय सुनुवाइ समितिले सार्वजनिक उजुरी आह्वान गरेको थियो ।
प्रस्तावित चार न्यायाधीशविरुद्ध समितिमा १३ वटा उजुरी परेका थिए । तीमध्ये पाँचवटा सामूहिक र आठवटा व्यक्तिगत प्रकृतिका थिए । उजुरीमा न्यायिक कार्यसम्पादन, आचरण, निष्पक्षता तथा नियुक्तिको औचित्यलगायतका विषय उठाइएको थियो ।
समितिले शुक्रबार उजुरीकर्ताहरूसँग छलफल गर्नुका साथै प्रस्तावित न्यायाधीशद्वय बागचन्द र सारूको सुनुवाइ गरेको थियो । शनिबार पाण्डे र डाँगीको सुनुवाइ सम्पन्न भएपछि चारै जनाको नाम अनुमोदन गर्ने निर्णय गरिएको हो ।
सुनुवाइका क्रममा समितिका सदस्यहरूले प्रस्तावित न्यायाधीशहरूको कार्यक्षमता, न्यायिक स्वतन्त्रता, विगतको कार्यसम्पादन तथा न्यायपालिकामा सुधारको आवश्यकताबारे प्रश्न गरेका थिए । प्रस्तावित न्यायाधीशहरूले आफ्ना कार्ययोजना प्रस्तुत गर्दै उठेका प्रश्नहरूको जवाफ दिएका थिए ।
संसदीय सुनुवाइबाट नाम अनुमोदन भएसँगै चारै जनालाई सर्वोच्च अदालतको न्यायाधीश नियुक्त गर्ने संवैधानिक प्रक्रिया अघि बढ्ने भएको छ ।
संवैधानिक व्यवस्थाअनुसार न्यायपरिषद्को सिफारिस र संसदीय सुनुवाइपछि सर्वोच्च अदालतका न्यायाधीशलाई राष्ट्रपतिले नियुक्त गर्ने व्यवस्था छ । समितिको अनुमोदनसँगै उनीहरूको नियुक्तिको बाटो खुलेको हो ।





