काठमाडौं । गुल्मीको सत्यवती गाउँपालिका–३ र ४ लिम्घा गाउँका बाढीपीडितलाई गिरिजाप्रसाद कोइराला फाउण्डेशन मकाउ शाखाले आर्थिक सहयोग गरेको छ ।
फाउण्डेशन मकाउ शाखाले आज मण्डिखाटारमा गुल्मीको सत्यवती गाउँपालिका–३ र ४ लिम्घा गाउँमा जस्तापाता किन्नका लागि रु तीन लाख आर्थिक सहयोग गरेको हो । उक्त गाउँमा साउनमा गएको पहिरोमा परेर १३ जनाले ज्यान गुमाएका थिए ।
नेपाल चेम्बर अफ कमर्श मकाउ, नेपाल जनसम्पर्क समिति मकाउ र एनआरएन मकाउ, गुल्मी लिम्घा गाउँका बासिन्दाबाट सङ्कलन गरेर पठाएको रकम फाउण्डेशन मकाउकी संयोजक निर्मला थापामगरले फाउण्डेशनका केन्द्रीय अध्यक्ष सुजाता कोइरालालाई हस्तान्तरण गरे ।
कार्यक्रममा मकाउ शाखाकी संयोजक थापामगरले नेपाल चेम्बर अफ कमर्श मकाउका अध्यक्ष सुदर्शन थापामगर, नेपाली जनसम्पर्क समिति मकाउका सभापति लेखबहादुर गुरुङ, एनआरएन मकाउका अध्यक्ष शान्तिदेवी अधिकारी, पीडित गाउँ बासिन्दा ऋषिराम भण्डारी, रुद्रहरि ज्ञवाली, केशव ज्ञवाली, तारा बस्नेतलगायतको सक्रियतामा संकलन गरेको रकम हस्तान्तरण गरेको जानकारी दिए ।
फाउण्डेशनका केन्द्रीय अध्यक्ष कोइरालाले गुल्मीका बाढीपीडितलाई मकाउ शाखाले गरेको सहयोगले थोरै भए पनि राहत पुगेको बताए । “फाउण्डेशनले स्वदेशी तथा विदेशी संघ संस्थासँग सहकार्य गरेर मुलुकको शिक्षा, स्वास्थ्य, पर्यटनको विकासमा काम गर्नेछ,’–उनले भने ।
फाउण्डेशनले हाल अमेरिका, जापान, मकाउ, हङकङ, कतार, भारतलगायतका एक दर्जन मुलुकमा शाखा विस्तार गरेर मुलुकको विकासका लागि काम गर्दै आएको छ ।







