काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली जनताको दुःख निवारणका तीन उपाय बताएका छन् । सातौं राष्ट्रिय विज्ञान दिवसलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले जनताका दुःख निवारणका तीन उपाय सुल्झाएका हुन् ।
उनले वीर पुर्खाको वंशाणुगत गुण, प्राकृतिक सुन्दरता र विशाल युवा जनशक्तिलाई नेपालीहरुको दुःख निवारणका प्रमुख उपाय भएको उल्लेख गरेका हुन् । उनले भने, ‘हामी वीर पुर्खा र विद्वान पुर्खाका सन्तान हौं । त्यो जीन हामीसँग छ । हाम्रो जीनमा नै खोज अनुसन्धान छ । अहिले भएका पाका वैज्ञानिकहरुले सीमित खोज अनुसन्धान गर्नुपर्यो होला । नयाँ पुस्तालाई अवसर छ ।’
समाजलाई विज्ञानसम्मत लैजानुपर्छ भन्दै प्रधानमन्त्री ओलीले भने, ‘प्राकृतिक हिसाबले हामीसँग प्रशस्त सम्भावना छ । युवाको ठूलो जनसंख्या छ । अब हामी विकास गर्न सक्छौं । परम्परागत ढंगले विकास सम्भव छैन । त्यसकारण समाजलाई विज्ञान सम्मत ढंगले लैजानुपर्छ ।’
उनले युवा वैज्ञानिकहरुलाई सरकारले साथ दिने भन्दै उत्साहित भएर काममा लाग्न आग्रह गरे । ‘राजनीतिक वातावरण बनेको छ । अरु वातावरण बनाउनका लागि सरकार तयार छ, बनाउँछ,’ उनले भने, ‘विज्ञान र प्रविधिको क्षेत्रमा केही गर्ने अठोट गरेका छौं । अब शान्तिपूर्ण ढंगले जानुपर्ने छ । त्यसकारण उत्साहित भएर काममा लाग्नुपर्छ ।’







