डोटी । दिपायल सिलगढी नगरपालिकाको अगुवाईमा शनिबार गरिएको बजार अनुगमनबाट फेला परेको लाखौं मुल्य बराबरको अखाद्य वस्तु र औषधी सोमबार नष्ट गरिएको छ ।
दशैँ, तिहार नजिकीदै गर्दा चाडवाडको समयमा अखाद्य वस्तु बिक्री, वितरण नहोस् भन्ने उद्देश्यले जिल्ला प्रमुखहरुको सहभागितामा छड्के रुपमा बजार अनुगमन गरिएको थियो ।
दिपायल स्थित पीपल्ला बजार र राजपुरमा गरि एकाईस वटा खाद्य पदार्थ बस्तुका पसलहरु र ८ वटा स्वास्थ्य संस्था सामुदायीक अस्पताल, निजी अस्पताल, फार्मेशी र निजी क्लीनीकमा गरिएको अनुगमनका क्रममा ५ वटा खाद्य पसल बाट म्याद गुज्रेको अखाद्य वस्तु फेला पर्नुका साथै स्वास्थ्य संस्थाको हकमा कुनै संस्थामा कागजात नभएको, कुनैमा म्याद नाधेको औषधी रहको, कुनैमा मुल्य सुची नरहेको, कुनैमा ओपीडी दर्ता नभएको, कुनैमा दर्ता प्रमाण पत्र नभएको भेटीएको अनुगमन टोलीले जनाएको थियो ।
पिपल्ला बजार र राजपुरमा गरिएको अनुगमनबाट लाख रुपैयाँ बराबरको म्याद नाघेका अखाद्य वस्तु फेला पर्नुका साथ केही म्याद नाघेका औषधीहरु फेला परेको दिपायल सिलगढी नगरपालिकाका नगर उप प्रमुख शिवराज खड्काले बताए । उनले भने हामीले अनुगनमको सुरुवात गरेका छौ अन्त्य होईन हामी यसलाई निरन्तरता दिनेछौ ।
प्रत्येक नागरिकले स्वस्थ्य मापदण्ड अनुरुपको खाद्य पदार्थ खान पाउनु नैसर्गिक अधिकार हो बजारमा खाद्य अवस्थाको बारेमा जानकार हुन बजारमा छड्के अनुगमन गरेको प्रमुख जिल्ला अधिकारी टेकनारायण पौडेलले बताए । उनले भने,‘ बजारमा अखाद्य वस्तुको बिक्री बितरण गरिएको भए त्यस्ता ब्यापारीहरुलाई कानुनी कारबाही गर्न र प्रत्येक नागरिकको खाद्य अधिकार सुनिश्चीत होस् भन्नका लागि हामीले अनुगमन गरेका छौँ, अखाद्य वस्तु बिक्री बितरण गर्न कसैलाई छुट छैन अटेर गरे खाद्य सुरक्षा ऐन अन्तर्गत कारबाही हुन्छ ।
बजार अनुगमनका क्रममा टोलीले लाखौँ मूल्य बराबरको मसला, तेल,चिउरा, जुस, चिया पत्ती,टफी, जुस, रेड जेल, चाउचाउ, भुजिया, डाबरसर्च अमला, ग्लुकोज, चोकोपन, चोको क्याटरी, अचार, बनस्पती ध्यू लयायतका अखाद्य वस्तु भेटीएका थिए । जसलाई सोमबार कानुनी प्रक्रिया अनुसार नष्ट गरिएको छ ।
म्याद गुज्रेको अखाद्य वस्तु एम् एस सप्लार्यस, कोटभैरब जनरल स्टोर, सुबिन ट्रेडस , घटाल सप्लार्यस, कलेल ट्रेडस एण्ड सप्लार्यसबाट भेटीएको नगरपालिकाले जनाएको हो ।
अनुगमन कार्यमा प्रमुख जिल्ला अधिकारी , नगर प्रमुख, खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय प्रतिनिधी, नेपाल प्रहरी डोटी प्रमुख, सशस्त्र प्रहरी डोटी प्रमुख, उपभोक्ता अधिकार मञ्च, पत्रकारसहितको टोली रहेको थियो । अनुगमन गर्न बाकी रहेका नगरपालिकाका अन्य स्थानहरुमा जुनसुकै बेला पनि अनुगमन गर्न सकिने नगरपालिकाले जनाएको छ ।















