बागलुङ । बागलुङको दुर्गम गाउँ नौटुवामा स्वास्थ्य सेवाको पहुँच पुगेको छ । बागलुङको बडिगाड गाउँपालिका-१ नौटुवामा सामुदायिक स्वास्थ्य इकाइ शुक्रबारदेखि सञ्चालनमा आएको हो ।
बडिगाड गाउँपालिकाले स्थानीय नागरिकलाई आधारभूत स्वास्थ्य सेवा लिने वातावरण बनाएको गाउँपालिकाका अध्यक्ष गण्डकी थापा अधिकारीले जानकारी दिए । स्वास्थ्य सेवा लिन एक घण्टाभन्दा बढी पैदल हिँडेर दगातुन्डाँडा स्वास्थ्य चौकी पुग्नुपर्ने बाध्यता रहँदै आएकामा नौटुवा क्षेत्रका नागरिकले गाउँमैसेवा पाउन थालेका उनले बताए।
अध्यक्ष अधिकारीका अनुसार स्वास्थ्य इकाइ सञ्चालनमा आएपछि खोप सेवासहित आधारभूत स्वास्थ्य सेवा लिन स्थानीयलाई सहज भएको छ । गण्डकी प्रदेश सरकारको रु १० लाख लागतमा गत वर्ष नै निर्माण भएको भवनमा नगरपालिकाले स्वास्थ्यकर्मी र औषधिको व्यवस्था मिलाएको छ ।
स्वास्थ्य इकाइमा एक जना स्वास्थ्यकर्मीको दरबन्दी बनाएर सेवा दिन थालिएको हो । यसअघि खोप केन्द्रका रूपमा रहेको उक्त स्थानबाट अब बर्थिङ सेवाबाहेक अन्य आधारभूत स्वास्थ्य सेवा उपलब्ध हुने भएपछि स्थानीय खुसी भएका छन् । स्वास्थ्य सेवा नागरिकको घरदैलोमै पुर्याउने गाउँपालिकाले स्वास्थ्य चौकीको पहुँच टाढा रहेको स्थानमा स्वास्थ्य इकाइ स्थापना गरेको हो ।





