काठमाडौँ । प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबिच बुधवार सचिवालय बैठक बोलाउने सहमति भएको छ ।
प्रधानमन्त्रीको सरकारी निवासमा मङ्गलवार दिउँसो दुई नेताबिच भएको भेटवार्तापछि सचिवालय बैठक बुधवार बस्ने सहमति भएको बालुवाटार स्रोतले जनाएको छ ।
नेकपाभित्र विवाद उत्कर्षमा पुगेपछि अध्यक्ष दाहाल र वरिष्ठ नेता माधवकुमार नेपाललगायतका नेताले सचिवालय र स्थायी कमिटी बैठक बोलाउन माग गर्दै आएका थिए । तर, अध्यादेश प्रकरणपछि दबाबमा परेका ओलीले आलटाल गर्दै आए पनि मंगलबार दाहालसँगको भेटमा बैठक बोलाउन सकरात्मक भएको बुझिएको छ ।
प्रधानमन्त्री ओली र अध्यक्ष प्रचण्डबिच झन्डै एक घण्टा भएको कुराकानीमा दुवै नेताले वतमान परिस्थिति र त्यसले निम्त्याएको राजनीतिक सरगर्मीबारे गहन छलफल गरेको बताइएको छ ।
यसअघि हिजो(सोमबार) कोटेश्वरस्थित माधवकुमार नेपालसहित ओली पक्षका नेताहरूबिच भएको दुई पक्षीय छलफलमा मङ्गलवार सचिवालय बैठक बोलाउने सहमति भएको बताइएको थियो । तर, दुई अध्यक्षबिचको बैठकबाट फेरि भोलिका लागि बैठक तय गरिएको हो ।







