२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

महिलापुरुष : काम एउटै, ज्याला भिन्दै

अ+ अ-

जीतपुर । बन्दाबन्दीका समयमा पनि कपिलवस्तु जिल्ला वाणगङ्गा नगरपालिका–८ मोर्मीकी शुभावती थारु घर निर्माणका काममा व्यस्त छन् । काम नगरे छाक टार्न धौधौ पर्ने भएकाले उनी दैनिक पर्खाल लगाउने र प्लाष्टर गर्ने काम गर्छिन् । सोह्र वर्षदेखि सिमेन्ट, बालुवा, छड र गिट्टीसँगै खेल्ने थारुलाई बानी परेको छ । थारु अहिले निर्माण क्षेत्रमा घर बनाउने दक्ष मिस्त्री भइसकेकी छन् ।
पुरुष मिस्त्रीसरह काम गरे पनि ज्यालामा विभेद हुने गरेको थारुको गुनासो छ । ‘शुरुमा काम गर्दा पुरुष मिस्त्री मात्रै थिए । अहिले उनीहरुजत्तिकै काम गर्छु तर ज्याला कम पाउँछु,’ थारु भन्छिन्, ‘पुरुष भएकै कारण सँगै काम गर्नेले रु ८ सयदेखि ८५० सम्म पाउँछन्, म रु पाँच सय मात्रै पाउँछु ।’

पटकपटक काम एउटै भएपछि ज्याला समान दिन माग गरेपनि सुनुवाइ नभएको थारुको गुनासो छ । घरमा श्रीमान्को मृत्युपछि आम्दानीको बाटो हराएकाले तीन छोरीको लालनपालन र शिक्षाका लागि घर निर्माणको काम गर्न थालेको उनीको भनाइ छ । थारु भन्छिन्, ‘धेरै भनिरहँंदा कामबाटै हात धुनुपर्छ कि भन्ने डर लाग्छ, अहिले त ठेकेदारले दिएको लिएर जानुबाहेक विकल्प छैन ।’ दिनभरि कमाएको पैसाले घरखर्च चलाउनसमेत गाह्रो भएको थारु बताउँछिन् ।

अन्य आम्दानीको स्रोत नहुँदा श्रीमान्को अभावमा उहाँलाई परिवार धान्न निकै समस्या छ । ‘घरमा छोरीहरु छन्, उनीहरुको पढाइ खर्च बढिरहेको छ, आफूले कमाएअनुसार ज्याला पनि पाइन्न’, थारु भन्छिन्, ‘कमाएको जति पैसा छोरीहरु पढाउन र घरखर्चमै सकिन्छ ।’

घर निर्माणकै क्षेत्रमा मजदूरी गर्दै आएका गौरी चौधरीको पनि गुनासो उस्तै छ । दिनभरि पुरुषसरह खटेर काम गर्दा पनि चौधरीले कहिल्यै समान ज्याला पाएकी छैनन् । एउटै श्रम गर्ने पुरुषले दैनिक ज्याला रु ५१० पाउँदा चौधरीको हातमा रु ४७० मात्र पर्छ ।

सात वर्षदेखि निर्माण क्षेत्रमा मजदूरी गर्दै आएकी चौधरी घरको तीनचार तला माथिसम्म सिमेन्ट बोक्ने र अन्य सामग्री पुर्‍याउँछिन् । ‘दिनभरि ५० किलोका सिमेन्टका बोरा बोक्नुपर्छ तर दिनेबेलामा मलाई थोरै पैसा दिन्छन्, साह्रै चित्त दुख्छ’, उनी भन्छिन्, ‘महिलालाई हेपेर त होला, होइन भने पैसा बुझ्ने बेला ४० रुपैयाँ कम दिन्छन् ।’

त्यस्तै समस्या वाणगङ्गाकी मजदूरी गर्ने विष्णु थारुले पनि वर्षौँदेखि भोगिरहेकी छन् । पुरुषसरह काम गरे पनि ज्याला कहिल्यै समान नपाएको उनीको गुनासो छ । ‘मेरो इमानदारीको फाइदा उठाएर ज्यालामा शोषण गर्छन्, यो मैले राम्रोसँंग बुझेकी छु तर कसलाई भन्ने, ठेकेदारलाई भन्यो भने कामबाटै निकालिदिने हो कि भन्ने डर लाग्छ’, थारु गुनासो गर्छिन् । महिला भएकै कारण ज्यालामा विभेद हुँदा मजदूर संघसंगठनले पनि खासै आवाज उठाएको पाइँदैन ।

नेपाल ट्रेड युनियन महासंघ वाणगङ्गाका अध्यक्ष भोजराज थारुले विभेदविरुद्ध सबैले आवाज उठाउनुपर्ने प्रतिक्रिया दिए । ‘महिलाले धेरै काम गर्न सक्दैनन् भन्ने कमजोर मानसिकताले गर्दा विभेद भएको हो, अब त्यस्ता मजदूरहरु संगठित भएर आवाज उठाउनुपर्छ ।’ यस्तो असमानता शहरी क्षेत्रमा भन्दा ग्रामीण भेगमा धेरै रहेको उनको भनाइ छ ।

वडा नं १ का वडाध्यक्ष बालकुमारी पन्त पनि विश्व श्रम सङ्गठन र नेपालको संविधानले श्रम विभेद नगरेको उल्लेख गर्दै विभिन्न वडामा भएको यो समस्याबारे आफूले आवाज उठाउँदै आइरहेको जानकारी दिए। महिला अधिकारकर्मी इन्दिरा भट्टराईले पटकपटक आफूहरुले आवाज उठाइरहेको तर पीडित श्रमिक महिलाले सम्बन्धित निकायमा आफ्नो गुनासो नराखेकाले समस्या जहाँको तहीँ रहेको हो भने ।

नगरपालिकाका उपप्रमुख चक्र अर्यालले यस्तो गुनासो नगरपालिकामा अझसम्म नआएको बताउँदै आगामी दिनमा समस्याबारे जानकारी आएमा आफूहरुले सम्बोधन गर्ने बताए ।