काठमाडौं । खुमलटारमा नेकपाका दुई अध्यक्षबीचको छलफलको क्रममा बीचमा उपाध्यक्ष वामदेव गौतम पनि पुगेका छन् ।
सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहालबीच बिहानदेखि खुमलटारमा छलफल चलिरहेको छ । छलफलमा सहभागी हुन गौतमपनि पुगेका हुन् ।
दाहाललाई भेट्न पहिलोपटक उनकै निवास पुगेका दाहाल–ओलीको यो भेटलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।
यसअघि शुक्रबार दिउँसो दाहाल–नेपाल समूहले जनवर्गीय संगठनको कार्यालय पेरिसडाँडामा प्रदेश १ का आफूनिकट जिल्ला अध्यक्ष, सचिव र केन्द्रीय सदस्यहरूको भेला गरेका थिए । उक्त भेलाले एकाधिकार र सर्वसत्तावादविरुद्ध डटेर लड्ने निष्कर्ष निकालेको थियो।
पेरिसडाँडा पछि शुक्रबार साँझ प्रधानमन्त्री ओलीलाई भेट्न दाहाल बालुवाटार पुगेका थिए।