काठमाडौँ । नेपाली काँग्रेसका नवनिर्वाचित महामन्त्री विश्वप्रकाश शर्माले व्यवहारबाट सामाजिक रुपान्तरणको सन्देश दिनुपर्ने आवश्यकता रहेको धारणा व्यक्त गरेका छन् ।
काँग्रेसको १४औँ महाधिवेशनबाट महामन्त्रीमा निर्वाचित भएपछि आज पहिलो पटक सञ्चारकर्मीसँग कुरा गर्दै उनले समाज रुपान्तरण गर्ने कार्य कुनै दलका लागि मात्र नभई समग्र राष्ट्रका लागि आवश्यक रहेको बताए ।
‘देश बनाउन भौतिक विकाससँगै सामाजिक रुपान्तरण पनि अपरिहार्य छ । समाजमा विद्यमान कुरीतिका साथै बालहिंसा, घरेलु हिंसा, एसिड आक्रमणलगायत विकृति अन्त्य गर्नु सबैको साझा दायित्व हो’, महामन्त्री शर्माले भने ।
काँग्रेस १४औँ महाधिवेशनमा पार्टी पदाधिकारीमा ठुलो नेतृत्वपङ्ति बाहिर रहेको अवस्था दर्साउँदै उनले त्यसलाई संयोजन गर्ने दायित्व सभापतिका साथै आफ्नो पनि रहेको उल्लेख गरे ।
तीन वर्ष काँग्रेसको प्रवक्ताको जिम्मेवारी सम्हालीसकेका उनले आगामी दिनमा पनि मिडियामैत्री भएर आफ्ना काम कारबाही सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गरे ।
फरक प्रसङ्गमा महामन्त्री शर्माले नेपालको संविधानले व्यवस्था गरेको प्रेस स्वतन्त्रतालगायत जनताका मौलिक हकका पक्षमा आफू सदैव अडिग रहेको बताउँदै कुनै पनि मुलुकमा रहेको स्वतन्त्र मिडिया र दलगत प्रतिस्पर्धाले नै त्यस मुलुकको प्रजातन्त्रको स्तर निर्धारण हुने उल्लेख गरे ।
पचास वर्षीय उनी काँग्रेसको हालै सम्पन्न १४औँ महाधिवेशनबाट महामन्त्रीमा निर्वाचित भएका हुन् ।