नयाँ दिल्ली । भारतीय गायिका लता मंगेशकरको निधन भएको छ। स्वर कोकिला भनेर चिनिने चर्चित गायिका लता मंगेशकरको ९२ वर्षको उमेरमा आइतबार निधन भएको हो।
कोभिडबाट संक्रमित भएपछि उनलाई यसै वर्ष जनवरीको सुरुमा अस्पताल भर्ना गरिएको थियो। स्वास्थ्य अवस्थामा सुधार नभएपछि उनी केही हप्तादेखि आईसीयूमा थिइन्।
लता मंगेशकरले भारतमा फिल्म संगीतलाई नयाँ परिभाषा दिएकी थिइन्। लता मंगेशकरलाई भारतको ‘सुर कोकिला’ भनिन्छ । उनको फिल्मी संगीत जीवन आधा शताब्दीभन्दा बढी लामो थियो। सो समयमा उनले ३६ भारतीय भाषामा ३० हजारभन्दा बढी गीत गाइन्।
लता मंगेशकरको जन्म २८ सेप्टेम्बर १९२९ मा मध्य भारतको इन्दौर सहरमा भएको थियो । उनका पिता पंडित दीनानाथ मंगेशकर पनि गायक थिए। उनी थिएटर कलाकार पनि थिए ।