काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) ले स्थानीय तह निर्वाचनमा उम्मेदवारको योग्यता र छनौटको तरिका टुङ्गो लगाएको छ ।
स्थानीय तह निर्वाचन निर्देशिका अनुसार जुन पदमा उम्मेदवारी दिने हो, सो तहको पार्टी समितिले सम्भावित तीन जनासम्मको नाम सिफारिस गर्नुपर्ने छ । सिफारिस गरिएका नाममा सम्बन्धित आफ्नो समितिमा छलफल गरी निर्णय गर्नुपर्ने छ ।
छलफलमा निष्कर्ष ननिस्किए एक तह माथिल्लो समितिमा निर्णयार्थ पठाउनुपर्ने निर्देशिकामा उल्लेख छ । त्यसरी पठाइएका सिफारिस उपर माथिल्लो समितिले सम्बन्धित स्तरको गाउँ, नगर र वडाको वस्तुस्थिति, उम्मेदवारको अवस्था, पार्टीको अवस्था र अन्य प्रतिस्पर्धी दलको अवस्थाको मूल्याङ्कन गरी उम्मेदवारको छनोट गर्नुपर्ने विधि बनाइएको छ ।
गाउँपालिकाको अध्यक्ष -उपाध्यक्ष, नगर र उपमहानगरका प्रमुख -उपप्रमुख पदको उम्मेदवारी सोही स्तरको पार्टी कमिटीले छनोट गर्ने छ । त्यहाँ छलफल गर्दा निष्कर्ष ननिस्किए जिल्ला समन्वय समितिमा पठाउनु पर्ने छ । त्यहाँ पनि टुङ्गो नलागेमा प्रदेशको कार्यकारिणी समितिले टुङ्गो लगाउने निर्देशिकामा उल्लेख छ ।
उम्मेदवार टुङ्गो लगाउने प्रदेश कार्यकारिणी समितिको बैठकमा राष्ट्रिय समितिका अध्यक्ष समेत रहने व्यवस्था छ ।
महानगरपालिकाको उम्मेदवारको छनोट भने केन्द्रीय कार्यकारिणी समिति वा पदाधिकारीबाट हुने जसपाको निर्वाचन निर्देशिकामा उल्लेख छ ।
वडाध्यक्ष र सदस्यहरुको उम्मेदवारी भने प्रारम्भिक समिति, सम्बन्धित गाउँ, नगरपालिकाले टुङ्गो लगाउन सक्ने छ । त्यहाँ नटुङ्गिएमा जिल्ला समन्वय समितिले टुङ्गो लगाउने छ ।
महानगरपालिकाको प्रमुख उपप्रमुख पदको उम्मेदवारी छनौटको प्रश्न अति जटिल बनेर प्रदेशले टुङ्गो लगाउन नसकेमा अन्तिम निर्णय गर्ने अधिकार केन्द्रीय कार्यकारिणी समिति वा पदाधिकारीलाई हुने छ ।
पदाधिकारी तहबाट निर्णय गर्दा सम्बन्धित प्रदेशका केन्द्रीय कार्यकारिणी समितिका सदस्यहरुसँग समन्वय गर्नुपर्ने विधि बनाइएको छ ।
बाँकी पदको उम्मेदवार छनोट गर्नुअघि गाउँ, नगरपालिकाका अध्यक्ष प्रमुखको उम्मेदवार र उक्त गाउँ नगरपालिका समावेश भएको प्रतिनिधि सभा, प्रदेशसभा र स्थानीय तहमा जितेका वा गत निर्वाचनका पार्टीका उम्मेदवार भएकाहरुसँग समन्वय गर्नुपर्ने पनि जसपाले जनाएको छ ।
उम्मेदवारको योग्यता :
यस्तै जसपाले उम्मेदवारको योग्यता सम्बन्धी सात बुँदे मापदण्डसमेत तोकेको छ । उम्मेदवार पार्टीको सिद्धान्त, नीति, उद्देश्य, कार्यक्रम र पार्टीको एकत्वलाई आत्मसाथ गर्ने हुनुपर्ने छ ।
पार्टी समितिमा सङ्गठित तथा सक्रिय रहने, सामाजिक काममा समर्पित हुनसक्ने, स्वच्छ छवि भएको, विजय हासिल गर्न सक्ने खालको पनि हुनुपर्ने छ ।
यसैगरी सम्बन्धित गाउँ, नगर र वडाको वस्तुस्थिति बुझेको र सुशासन प्रत्याभूति गर्न सक्ने पनि हुनुपर्ने छ ।