काठमाडौँ । गुल्मीको सत्यवती गाउँपालिका वडा नं. ८ ले अविवाहित प्रमाणित सम्बन्धमा गरेको एउटा सिफारिस पत्र सोमबार सामाजिक सञ्जालमा भाइरल भएको छ । वडाध्यक्ष होमबहादुर रानाले सिफारिस गरेको पत्रमा भाषागत त्रुटिलाई लिएर सामाजिक सञ्जालमा टीकाटिप्पणी भएको छ । जसमा ‘स्थानीय रामबहादुर आलेकी श्रीमती गौमाया आलेको कहीँ कतै पनि पुनः विवाह नभएकाले निज गौमाया आलेलाई अविवाहित सिफारिस गरिएको छ ।’ भन्ने उल्लेख गरिएको छ ।

सिफारिस पत्र भाइरल भएपछि प्रशासन डटकमले यसबारे वडाध्यक्ष रानासँग वास्तविकता बुझेको छ । उक्त सिफारिस पत्र वडा कार्यालयले आइतबार दिएको उनले जानकारी दिए । प्रशासनको जिज्ञासामा उनले भने, ‘कार्यालयमा कामको चाप थियो, सेवाग्राही पनि थुप्रै थिए । पुनः विवाह नभएको भनेर दिनुपर्ने, हतारमा टाइप मिस्टेक हुँदा ‘अविवाहित’ भनेर दिइएछ । यसलाई हामीले सच्चाएका छौँ ।’
सामाजिक सुरक्षा भत्ताका लागि गौमायाले आफ्नो पुनः विवाह नभएको सिफारिस वडा कार्यालयसँग मागेकी थिइन् । ‘हतारमा गल्ती भयो । पत्र सामाजिक सञ्जालमा हालिदिनु भएछ ।’ वडाध्यक्ष रानाले भने, ‘हामीले गौमायालाई हिजोकै मितिमा अर्को पत्र दिइसकेका छौँ ।’

गौमाया आले एकल महिला हुन् । उनका श्रीमान् रामबहादुर आलेको २०७७÷०१÷०१ मा निधन भइसकेको छ । पहिलो पत्रको विषयमा ‘अविवाहित प्रमाणित सम्बन्धमा’ लेखिएको छ भने सच्चाएको दोस्रो पत्रमा ‘अर्को विवाह नगरेको प्रमाणित सम्बन्धमा’ भन्ने उल्लेख गरिएको छ ।
पत्रमा भनिएको छ, ‘निजको पतिको मृत्युपश्चात् निज गौमायाले हालसम्म अर्को विवाह नगरेको व्योहोरा प्रमाणित गरिन्छ ।’