काठमाडौँ । कार्तिक कृष्ण औँसी अर्थात् गाई तिहार। सोमबार देवी लक्ष्मीको प्रतीक स्वरूप गाईको पूजा गरिँदै छ।
विधिपूर्वक गाईको पूजा गरी खानेकुरा खान दिने परम्परा छ। औँसीका दिन बिहान गाई पूजा गर्ने र साँझ लक्ष्मीपूजा गर्नुपर्ने विधि भए पनि तिथिको घटबढका कारण यो वर्ष दुई दिन परेको छ। सोमबार अपराह्न नै औँसी तिथि लागेपछि साँझ लक्ष्मीपूजा गरिएको छ।
सोमबार २७ घडी १५ पला अर्थात् अपराह्न ५ बजेर ४ मिनेटमा औँसी लागेको हो। मङ्गलवार २५ घडी ५७ पला अर्थात् अपराह्न ४ बजेर ३३ मिनेटसम्म औँसी रहने पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ। ।
वनजंगलका औषधियुक्त घाँसपात खाएर अमृतरूपी दूध दिने भएकाले सनातन हिन्दु समाजमा गाईलाई आमाकै रूप मानिएको छ। गाईबाट प्राप्त हुने पदार्थ पञ्चगव्य (दूध, दही, घ्यू, गहुँत र गोबर) का रूपमा धार्मिक कार्यमा शुद्धिका लागि प्रयोग गरिन्छ। देव कार्य वा पितृ कार्य गर्दा गोदान नगरी शुद्ध भएको मानिँदैन। कृषि कर्ममा गाईबाट प्राप्त हुने गोबर र गोमूत्रलाई मलका रूपमा प्रयोग गरिन्छ।
लौकिक परम्परामा श्रावण शुक्ल पूर्णिमाका दिन हातमा बाँधिएको रक्षा सूत्र (डोरो) गाईको पुच्छरमा बाँधिदिने चलन छ। यसो गर्दा मृत्युपछि वैतरणी गर्न सहज हुने लोक विश्वास छ।







