चितवन । नेपाली काँग्रेसका नेता डा. शेखर कोइरालाले काँग्रेस सरकारमा सहभागी नहुने बताएका छन् ।
राष्ट्रपति पदमा काँग्रेसको उम्मेदवार हुने भए पनि काङ्ग्रेस अहिले नै सरकारमा सहभागी नहुने स्पष्ट पारेका हुन् । आज यहाँ पत्रकारहरूसँग कुराकानी गर्दै उनले भने, ‘काँग्रेस प्रतिपक्षमै बसेर सरकारलाई खबरदारी गर्छ ।’
राष्ट्रपतिको निर्वाचनमा राष्ट्रिय सहमतिको प्रयास गरिने पनि उनको भनाइ छ । राष्ट्रपति पद संविधानको रक्षाका लागि भएको भन्दै संविधानको रक्षा गर्नु सबैको जिम्मेवारी भएको उनको भनाइ छ ।
फरक प्रसङ्गमा बोल्दै उनले प्रेस स्वतन्त्रता बिना लोकतन्त्र पूर्ण नहुने बताए । लोकतन्त्र बिना विकास सम्भव नहुने भन्दै उनले प्रेस स्वतन्त्रता काँग्रेसका लागि महत्त्वपूर्ण भएको बताए । ‘आलोचना सहन नसक्ने व्यक्तिले राजनीति गर्नु हुँदैन, राजनीतिमा सहनशीलता चाहिन्छ’, उनले भने, ‘सञ्चारमाध्यमको काम खबरदारी गर्ने हो, अन्यथा मान्नु हुँदैन ।’