काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री एवं सांसद गगन थापाले लाखौँ मतदाताले भोट दिएको लोकतान्त्रिक वाम गठबन्धन किन जोगिएन भन्ने प्रश्नको जवाफ दिनुपर्ने बताएका छन् ।
बुधबार काठमाडौँमा आयोजित एक कार्यक्रममा उनले १५र२० वर्ष जान्छ भनेर बनाइएको गठबन्धन पाँच वर्ष पनि टिकाउन नसकिएको बारे जनतालाई जवाफ दिनुपर्ने बताए ।
उनले भने, ‘२० वर्षसम्म गठबन्धन जान्छ, स्थिरता र समृद्धि दिन्छ, मत हाल्नुस् भनेर भन्यौँ । हामीले त मतदाताको जनप्रतिनिधि छान्ने अधिकारलाई सीमित गरिदिऔँ । तर, प्रधानमन्त्रीको विषयमा कुरा नमिल्दा पाँच वर्ष पनि गठबन्धन टिकाउन सकिएन । अहिले आफूलाई आफूले प्रश्न गर्ने र अरूलाई उत्तर दिनुपर्छ कि पर्दैन ? आम नागरिकलाई उत्तर दिनुपर्छ । १५ वर्ष नभए पनि पाँच वर्ष पनि टिकाउन सकिएन । लाखौँ मतदातालाई गठबन्धन बोकाएर, त्यो भारी बोकाएर अहिले उत्तरबाट भाग्ने ? हामीले प्रश्न सोध्ने को हो भन्ने ? त्यो मिल्दैन, यसको उत्तर हामीले दिनुपर्छ ।’
नेकपा (एमाले)ले गएको पुस १० गते दिउँसो ३ बजेसम्म हस्ताक्षर लिएर आउने र काँग्रेससँग मिलेर सरकार बनाउने भनेको पनि उनले बताए । तर, काँग्रेसलाई जस्तै एमालेले नेकपा (माओवादी केन्द्र)लाई पनि आश्वासन दिएर ढाँट्ने काम गरेको उनको भनाइ छ ।







