नेपालगञ्ज । विपद्का बेला सीमान्तकृत समुदाय, महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमाथि हुने विभेदका विषयमा आजदेखि यहाँ तीन दिने तालिम सुरु भएको छ ।
सहरी विपद् तथा भूकम्पीय पूर्व तयारी परियोजनाले लैङ्गिक अल्पसङ्ख्यक र जोखिममा रहेका समुदायको संरक्षणका विषयमा पैरवी गर्दै उनीहरूमाथि हुने विभिन्न हिंसा, यौन शोषण र विभेदका विषयमा तालिममा छलफल गरिने छ ।
बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी हरि शर्माले हिंसा र विभेदको विषय सबैको साझा दायित्व भएको उल्लेख गर्दै विपद्का बेलामा आउने समस्या समाधान गर्न पूर्व तयारी आवश्यक भएको बताए । उनले त्यस बेला राहत र उद्धारका विषय मात्रै प्राथमिकतामा परे पनि विभेदका विषयलाई ध्यान नदिएको उल्लेख गरे ।
युनिसेफ नेपालका क्षेत्रीय संयोजक दीपक श्रेष्ठले जोखिममा रहेका समुदायलाई लक्षित गरेर उनीहरूलाई मूल प्रवाहीकरण गर्नका लागि सबै समुदायको सहभागितामा छलफल सुरु गरिएको बताए ।
सुदूरपश्चिम प्रदेश, सामाजिक विकास मन्त्रालयकी जयन्ती गिरीले विपद्का बेला हुने अनैतिक कार्यलाई निरुत्साहित गर्न पहुँच नभएकाको सवाललाई ध्यानमा राखेर काम गर्न आवश्यक भएको धारणा राखे ।
कर्णाली प्रदेश सरकार, सामाजिक विकास मन्त्रालयकी अनिता ज्ञवालीले विपद्का बेला लैङ्गिक हिंसा न्यूनीकरणका लागि प्रभावकारी कदम चाल्न आवश्यक भएको सुझाव दिए ।
तालिममा लुम्बिनी प्रदेश, सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका विभिन्न सरकारी तथा गैर सरकारी संस्थाबाट करिब ६५ जनाको सहभागिता छ ।







