काठमाडौँ । उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले कारागारलाई सुधार गृहका रूपमा विकास गर्नुपर्ने बताएका छन्। बिहीबार कारागार व्यवस्थापन विभागको अवलोकन का क्रममा विभागका अधिकारीहरूको ब्रिफिङ सुनेपछि उपप्रधानमन्त्री श्रेष्ठले उक्त कुरा बताएका हुन्।
उनले बजेट लगायतका कारण उक्त कार्यका लागि सरकारका पनि केही सीमाहरू भएको चर्चा गर्दै साँच्चिकै सुधारगृह बनाउने काममा योजना बनाएर लाग्नुपर्ने र त्यसमा आफू प्रतिबद्ध रहेको बताए।
उपप्रधानमन्त्री श्रेष्ठले एकातर्फ सीमित स्रोतसाधनका बाबजुद धेरै कैदीबन्दीको व्यवस्थापन गर्नुपर्ने चुनौतीपूर्ण जिम्मेवारी रहेको र अर्कातर्फ त्यहाँ भित्रैका नाइकेहरूको अनावश्यक दबाबको कुरा पनि आफूले सुनेको बताए।
उनले भने, ‘अनावश्यक दबाब हामी झेल्छौँ, मैले झेल्छु। म विभागका अधिकारीहरूलाई तत्काल सुधारको दिशामा लाग्न निर्देशन गर्छु। तत्काल के-के गर्नुपर्छ भन्ने सूची बनाउनुहोस्। त्यो सूची आओस्। हामी त्यसलाई कार्यान्वयनमा लान्छौँ ।’
उपप्रधानमन्त्री श्रेष्ठले यथास्थितिमा जस्तो चलिरहेको छ, त्यस्तै चलिरहोस् भनेर अब नहुने बताए। अब विकृति र खराब कार्यहरूमा व्यापक परिवर्तन आवश्यक रहेको उनको भनाइ छ।







