काठमाडौँ । उपप्राध्यापक प्रेम चलाउनेलाई न्याय दिन र पीडक नेविसंघका विद्यार्थीहरूलाई दण्डित गर्न सरकारसँग माग गरिएको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियारले मङ्गलवार प्रतिनिधि सभा बैठकको शून्य समयमा बोल्दै आक्रमणमा संलग्नलाई लागेको मुद्दा फिर्ता लिने सरकारको निर्णयप्रति उनले आपत्तिसमेत जनाएका हुन्।
उनले भने, ‘विश्वविद्यालयजस्तो क्षेत्रमा त्यसरी गुण्डागर्दी शैलीमा मरणासन्न हुने गरी कुट्नेहरूलाई नछोडौँ । म सम्माननीय सभामुखमार्फत नेपाल सरकारको गृहमन्त्रीलाई अनुरोध गर्न चाहन्छु । कृपया, यो गल्तीलाई सच्याउनुस् । पीडितलाई न्याय दिनुस् ।’
त्रिभुवन विश्वविद्यालयका समाजशास्त्रका उपप्राध्यापक चलाउनेलाई विश्वविद्यालय परिसरमै गत २०७७ साल असोज २० गते आक्रमण भएको थियो । उनीमाथि आक्रमण गरेको अभियोगमा नेविसंघका हरि आचार्य, योगेन्द्र रावल लगायतविरुद्ध दायर मुद्दा जिल्ला अदालत, काठमाडौँमा विचाराधीन छ । सरकारले यही मुद्दा जेठ ३० गते फिर्ता लिने निर्णय गरेपछि चलाउनेले सोमबारदेखि अनसन सुरु गरेका छन् ।
सांसद परियारले न्याय मर्न नदिन सरकारलाई आह्वान गरे ।