काठमाडौँ । प्रतिनिधि सभा र प्रदेश सभा सदस्य चुनावको समानुपातिकतर्फ बन्दसूचीमा रहेका व्यक्ति राष्ट्रिय सभाको चुनावमा उम्मेदवार हुन नपाउने भएका छन् ।
निर्वाचन आयोगले आज आइतबार प्रेस विज्ञप्ति निकालेर समानुपातिक बन्दसूचीमा नाम भएका व्यक्ति राष्ट्रिय सभामा उम्मेदवार बन्न नपाउने जानकारी गराएको हो । आयोगका सहायक प्रवक्ता एवम् उपसचिव सूर्यप्रसाद अर्यालले ऐनले तोकेअनुसार नाम हटेको अवस्थामा बाहेक राष्ट्रिय सभा सदस्यको उम्मेदवार हुन नपाउने बताए।
‘प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको समानुपातिक निर्वाचन प्रणालीतर्फको उम्मेदवारको बन्दसूचीमा नाम समावेश भएको व्यक्ति प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन २०७४ को दफा ३० र प्रदेशसभा सदस्य निर्वाचन ऐन २०७४ को दफा ३० मा भएको व्यवस्थाअनुसार त्यही दफाहरूको उपदफा (१) को प्रतिबन्धात्मक वाक्यांश बमोजिम नाम हटेको अवस्थामा बाहेक राष्ट्रिय सभा सदस्यको उम्मेदवार हुन पाउने छैनन्’, आयोगको विज्ञप्ति उल्लेख छ ।
आयोगले आउँदो माघ ११ गते हुने राष्ट्रिय सभा सदस्य चुनावका लागि आयोगबाट निर्वाचन कार्यक्रम स्वीकृत भएको पनि बताएको छ ।







