काठमाडौँ । सामाजिक सुरक्षा कोषले योगदानमा आधारित सामाजिक सुरक्षा योजना अन्तरगत योगदानकर्ताले जम्मा गरेको रकम जलविद्युत क्षेत्रमा लगानी गर्ने कार्यको सुरुवात गरेको छ । कोष र हाइड्रोइलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआईडीसीएल)बिच मंगलबार सम्झौता भएसँगै जलविद्युत क्षेत्रमा लगानी गर्ने कार्यको सुरुवात गरेको हो ।
ऊर्जा जलस्रोत तथा सिँचाई मन्त्रालयका ऊर्जा सचिव गोपालप्रसाद सिग्देलको उपस्थितिमा मंगलबार कोषका कार्यकारी निर्देशक कविराज अधिकारी र एचआईडीसीएलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत अर्जुनप्रसाद गौतमबिच सम्झौता पत्रमा हस्ताक्षर भएको हो ।
सम्झौतामा दुवै पक्ष आ-आफ्नो प्रचलित नीति, नियम तथा निर्णयको अधीनमा रहेर जलविद्युत तथा अन्य नवीकरणीय ऊर्जाको विकास, प्रसारण तथा वितरणसँग सम्बन्धित आयोजनामा सह-वित्तीयकरणमा सहभागी भई ऋण लगानी गर्ने र अन्य साझेदारी गर्ने विषय उल्लेख गरिएको कोषले जनाएको छ ।