२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नेपाली भाषा र साहित्यमा नयाँ पुस्ताको रुचि

अ+ अ-

माध्यमिक तह उत्तीर्ण गरिसकेका व्यक्तिलाई नेपालीमा एक पृष्ठको निवेदन लेख्न पनि कठिनाइ परेको चर्चा सुनिन्छ । नेपाली भाषा प्रयोग र दक्षता कम हुँदै जान थालेपछि त्यसको असर साहित्यमा पनि पर्ने देखिन्छ । तसर्थ हाम्रो मातृभाषा नेपाली भाषा र साहित्यलाई पछिल्लो पुस्ताले कसरी लिन थालेका छन् भन्ने कुरा विभिन्न विद्यालयका विद्यार्थीहरूलाई सोधेर उनीहरूका भनाइ, शिक्षक तथा विभिन्न साहित्यकारहरूको विचारलाई समेटेर यो आलेख तयार गरिएको छ ।

आफ्नै मातृभाषा अंग्रेजीभन्दा असजिलो
“आफूलाई सानैदेखि मन पर्ने विषय विज्ञान हो । यसमा विज्ञानका कुराहरूलाई खोजी गरेर लेख्नुको मज्जा छुट्टै हुन्छ । नेपाली साहित्यमा कविता मन पर्छ मलाई । मैले विद्यालयका गुरु तथा गुरुआमाबाट सिकेर कविता, कथा र निबन्ध लेखेको छु। भविष्यमा नेपाली साहित्यमा अघि बढ्दै गएँ भने हाम्रो समाजमा सकारात्मक परिवर्तन हुने खालको कविता वा अन्य कृति निकाल्ने विचार छ । मैले रामप्रसाद ज्ञवालीको ‘उज्यालो यात्रा’ कविता, बदरी भट्टराईको ‘घर झगडा’ कथा, प्रा. डा. ऋषिराम शर्माको ‘मेरो देशको शिक्षा’ निबन्ध लगायत अन्य कविता, कथा निबन्ध पढेको छु । किताब पढ्न रमाइलो लाग्छ” भन्नु हुन्छ बत्तिसपुतलीस्थित सेवा सदन स्कुलमा कक्षा १० मा अध्ययनरत छात्र संस्कार श्रेष्ठ ।

“आफूले विद्यालयमा सानैदेखि अंग्रेजी भाषा मात्र प्रयोग गर्न पाउने बाध्यता भएकोले पनि होला अङ्ग्रेजी विषय सजिलो लाग्छ । नेपाली साहित्यमा मलाई कविता मन पर्छ । मैले निबन्ध लेखेकी छु । मैले विश्वेश्वरप्रसाद कोइरालाको ‘शत्रु’ कथा, गुरुप्रसाद मैनालीको ‘कर्तव्य’ कथा, ‘गाउँमाथि एउटा कविता’ कविता लगायत अरु पनि थुप्रै कथा, कविता, निबन्ध पढेकी छु । मैले भने भविष्यमा कुनै प्रकारको नेपाली साहित्यमा कलम चलाएर नेपाली साहित्यलाई अगाडि बढाउने सम्भावना थोरै छ । कृति निकालेँ भने पनि अङ्ग्रेजीलाई महत्त्व दिने सोच छ किनभने मलाई अङ्ग्रेजी सजिलो लाग्छ । हामीजस्ता विद्यार्थीको लागि रोचक लेखहरू पाठ्यक्रममा राखेमा विद्यार्थीहरूले नेपाली भाषा तथा साहित्यलाई रुचाउने थिए जस्तो लाग्छ ।” ललितपुरको जाउलाखेलस्थित सेन्ट जेभियर्स स्कुलको कक्षा १० की छात्रा दिपश्री श्रेष्ठ बताउनु हुन्छ।

त्यसैगरी टोखा नगरपालिका वडा नम्बर ५ वसुन्धरामा जीनियस वर्ल्ड स्कुलको कक्षा ९ मा अध्ययनरत छात्रा जोर्जीना कार्की बताउनु हुन्छ – “मलाई सबैभन्दा सजिलो लाग्ने विषय अङ्ग्रेजी नै हो । हामीले विद्यालय छिरेदेखि अङ्ग्रेजी बोल्नै पर्ने भएकोले दिनभरिमा पहिला त एक पिरियड नेपाली विषय मात्र पढिन्थ्यो, त्यो एक पिरियडमा जति सिकिन्थ्यो त्यही हो । अहिले सामाजिक विषय पनि नेपाली माध्यममा भएकोले नेपाली भाषामा केही राहत भए पनि नेपाली अलि गाह्रै लाग्छ तर पनि पाठ्यपुस्तकमा समेटिएका कुराहरू पढ्नै पर्ने हुन्छ । पढ्दै जाँदा सत्यमोहन जोशीको जीवनी, देवकुमारी थापाको कथा, ध्रुवचन्द्र गौतमका कथा, भरतराज पन्त लगायतका रचनाहरू पढेकी छु । मलाई गीत, कथा, कविता मन पर्छ किनभने यिनीहरू पढ्दा मनमा लुकेका भावना र आफ्नो विचारलाई साहित्यकारहरूले सुन्दर ढङ्गबाट व्यक्त गरेका हुन्छन् । गीत सुन्दा र पढ्दा तथा कथा पढ्दा मनमा जिज्ञासा बढ्छ । कविता र कथाले एउटा काल्पनिक संसारलाई पनि देखाउँछ । साहित्यमा रमाउँदा मनलाई शान्ति मिल्छ ।”

सहजै बुझ्न सकिने र हाम्रो राष्ट्रिय भाषा भएकोले पनि होला आफूलाई नेपाली विषय मन पर्ने कुरा श्री सैनिक आवासीय महाविद्यालय भक्तपुर कक्षा १२ मा अध्ययनरत छात्रा रोशा दाहाल बताउनु हुन्छ । उहाँ भन्नुहुन्छ “साहित्यका विधाहरूमध्ये कविता मन पर्ने र विद्यालयमा हुने साहित्यिक प्रतियोगिता हुँदा कविता, निबन्धहरू लेख्ने गरेको बताउनु हुन्छ । गोपालप्रसाद रिमालका कविता, तारानाथ शर्माका नियात्रा, हृयचन्द्रसिंह प्रधानका उपन्यास, भागीरथी श्रेष्ठका कथा, राष्ट्रकवि माधवप्रसाद घिमिरेका कविता, बखतबहादुर थापाका कथा लगायत थुप्रै कृतिहरू समेत पढेको छु र भविष्यमा कविता, निबन्ध लेख्ने रहर चाहिँ छ । हेरौँ के हुन्छ । अग्रज साहित्यकारहरूले विद्यार्थीलाई रुचि लाग्ने विषयवस्तु, समसामयिक विषयवस्तु लगायत बाल प्रतिभा उजागर हुने खालको कार्यक्रमहरू हुन सकेमा पछिल्लो पुस्ताले पनि साहित्यलाई माया गर्ने थिए कि !”

अभिभावकको भ्रम
“अहिले आवासीय विद्यालयका विद्यार्थीहरू नेपाली विषयमा निकै कमजोर हुन्छन् । यो कुरा मान्न तयार छु किनभने यसका लागि पहिलो कुरा अभिभावक बढी दोषी छन् किनकि आफ्ना छोराछोरीले फररर एकदुईवटा वाक्यहरू अङ्ग्रेजीमा बोल्दैमा मक्ख पर्छन् र अङ्ग्रेजी भाषाप्रति गर्व गर्दछन् । दोस्रो कुरा यस कार्यमा विद्यालय आफैँ दोषी रहेको छ किनकि नेपाली बोलेकै निहुँमा केही निजी विद्यालयमा जनही जरिवाना उठाइन्छ । तेस्रो कुरा विद्यार्थी आफैँ आफ्नो मातृभाषा पढेर के काम भन्दै यसको विरुद्ध उभिन्छन् । अर्को कुरा देशको राजनीतिक अवस्था अस्थिर भएकोले अधिकांश युवायुवतीहरू पैसा कमाउनको निम्ति आफूलाई विदेशको मोहले गर्दा नेपाली भाषा जानेर पनि के गर्नु र ? भन्दै यसप्रति गैर जिम्मेवारी अभिव्यक्ति दिन्छन् । त्यसैले निजी विद्यालयका विद्यार्थीहरू नेपाली भाषामा गहिरो दखल राख्दैनन् र कमजोर बन्न पुग्छन् । यस्तै हो भने नेपाली भाषाको अस्तित्व नै नरहला कि भन्ने चिन्ता लाग्छ ।“ सेवा सदन स्कुल बत्तिसपुतलीका नेपाली शिक्षक डिल्ली नेपाल बताउनु हुन्छ।

मातृभाषाप्रति संवेदनशील शैक्षिक संस्था, प्रतिष्ठान तथा सरकार
डा. एपीजे अब्दुल कलाम अन्तर्राष्ट्रिय पुरस्कार, डा. हर्क गुरुङ पर्वतीय पुरस्कार, टान–पासाङ ल्हामु शैक्षिक पुरस्कार, राष्ट्रिय शिक्षा पुरस्कारजस्ता दर्जनौँ पुरस्कारहरूबाट सम्मानित पर्वतीय नियात्राकार तथा नियात्रा समाज नेपालका अध्यक्ष प्रतीक ढकाल भन्नुहुन्छ – “विद्यार्थीहरूको नेपाली भाषामाथिको पकड कमजोर हुनुका पछाडि धेरै कारणहरू जिम्मेवार रहेका पाइन्छन् । यो परिस्थिति सिर्जना गराउनमा हामी सबै दोषी छौँ ।“ कारणहरूबारे उहाँ बताउनु हुन्छ – “आफ्ना छोराछोरीले नेपालीमा बोल्दा ध्यानै नदिने तर अङ्ग्रेजीमा फररर बोलेको सुन्दा दङ्ग पर्ने हामी अभिभावक, ‘मेरो नेपाली भाषा कमजोर छ’ भन्नुपर्दा लज्जा बोध हुनुको सट्टा गर्व बोध गर्ने विद्यार्थी वर्ग, जब मातृभाषा नै कमजोर छ भने तिनीहरूको के चाहिँ बलियो होला ? यति पनि कुरो बुझ्न नसक्ने विद्यार्थीहरू; आमसञ्चारमा बोलिने तथा लेखिने भाँडभैलोयुक्त नेपाली भाषा र त्यस्तै बोल्दा पो सेलिब्रेटी भइने रहेछ भन्ने भ्रम नै प्रमुख कारण हुन् |

सरकार तथा शैक्षिक संस्थाको भूमिका पनि नेपाली भाषाको जगेर्ना गर्ने तथा नयाँ पुस्तालाई साहित्यप्रति आकर्षित गर्ने खालको नभएको बताउँदै उहाँ थप्नु हुन्छ, “ विद्यालयको प्राङ्गणभित्र नेपाली भाषामा बोल्दा विद्यार्थीलाई कारबाही गर्ने भाषा घाती शैक्षिक संस्थाहरू दोषी छन् | अङ्ग्रेजीमा लेख्दा तथा बोल्दा शुद्ध हुनुपर्छ भनेर खुबै होस् पुर्‍याउने तर नेपालीचाहिँ जसरी लेखे हुन्छ, कुरो बुझे भइगयो नि भन्ने हाम्रो मनोवृत्ति गलत छ | नेपाली सवारीसाधनको इम्बोस्ड नम्बर प्लेटबाट नेपाली अक्षर नै हटाएर नेपालभित्रैबाट नेपाली भाषा मास्न उद्यत छ भइरहेको गैर जिम्मेवार सरकार | खेती गरेझैँ हरेक वर्ष नेपाली भाषाका शब्दहरूको हिज्जे बिगारेर शब्दकोश प्रकाशन गर्छ प्रज्ञा प्रतिष्ठान | विश्वव्यापीकरणको प्रभाव र सामाजिक सञ्जालमा प्रयोग भइरहेको भाषाको प्रभाव; अंग्रेजी राम्रो बनाउने नाममा नेपाली कमजोर बनाउन प्रोत्साहित गरिरहने अध्यापकहरू तथा नेपाली भाषालाई सजिलो बनाउनुपर्छ भन्ने नाममा नेपाली भाषामाथि नै खेलबाड गर्दै हिँडेका विश्वविद्यालय, विद्यालय, पाठ्यक्रम विकास केन्द्र र प्रज्ञा प्रतिष्ठानका केही बिकाऊ विद्वानहरू पनि दोषी छन् |”

साहित्यिक पत्रकार एवं नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञ सभा सदस्य चेतनाथ धमला सरकारी स्कुलमा विद्यार्थीको आकर्षण घट्नुको कारण बारे भन्नुहुन्छ – “कथित अङ्ग्रेजी शिक्षाप्रति अभिभावकको रुचि बढ्नु, अङ्ग्रेजी भाषा जानेपछि व्यक्ति योग्य हुन्छ भन्ने भ्रम पर्नु नै प्रमुख कारण हो | सरकारी स्कुललाई स्थायी जागिर खाने माध्यम ठान्ने तर आफ्ना छोराछोरीलाई निजी स्कुलमा पढ्न पठाउने र त्यस्ता शैक्षिक संस्थामा कतिपयले लगानी गर्ने गरेका कारण पनि गुणस्तर खस्किएको हो ।“

साहित्यकार धमलाले खस्किएको शिक्षाको गुणस्तरलाई बढाउनको लागि केही उपायहरू सुझाउनु भएको छ | उहाँको विचार यस्तो छ, “सरकारले सार्वजनिक जीवन व्यतीत गरेका व्यक्ति सांसद , मन्त्री र उच्चपदस्थ व्यक्तिका छोराछोरी सरकारी स्कुलमै पढाउनु पर्ने व्यवस्था गरेमा सरकारी स्कुलको गुणस्तर बढ्ने थियो । सकारात्मक विभेदको दृष्टिकोणका आधारमा सरकारी स्थायी सेवामा रहेका व्यक्तिले सरकारी स्कुलमा छोराछोरी नपढाएमा सरकारबाट उपलब्ध हुने सेवा त्यस्ता व्यक्तिका हकमा रोक्नु पर्छ, जसले शैक्षिक गुणस्तरमा टेवा पुग्ने छ । स्वरोजगारका नाममा शैक्षिक संस्थाबाट हुने सबै खाले शिक्षाको व्यापारिकरण बन्द गर्ने । विश्वव्यापी शिक्षाको प्रभावलाई ध्यानमा राख्दै सरकारी स्कुलले नेपाली, मातृभाषा र अङ्ग्रेजी भाषालाई एकसाथ पढाउनु पर्छ । जसले सरकारी स्कुलको पठनपाठनमा सुधार आउँछ ।“

“विद्यालय स्तरको कार्यक्रममा आफू निर्णायक मण्डलको भूमिका निर्वाह गर्न जाँदा मञ्चमा गएर मजासँग छन्दका कविता वाचन गर्नेलाई छन्दका गण सोध्दा नआउने हुन्छ | विद्यार्थीलाई कसले लेखेको कविता भन्दा विद्यार्थीले फलानो शिक्षक भनेर नामै तोकिदिन्छन् । यसरी पाएको नतिजा के नतिजा ? यस्तो छ नेपाली साहित्यको अवस्था ।“ दुःखी हुँदै बताउनुहुन्छ प्राध्यापन पेसामा संलग्न युवा साहित्यकार महेश पौडेल ।

शिक्षाविद्, साहित्यकार तथा नेपाल स्रष्टा समाजका कार्यसमिति सदस्य डा. सदानन्द कँडेल भन्नु हुन्छ, “पहिले विद्यालय तहमा सबैभन्दा गाह्रो विषय अंग्रेजी हुन्थ्यो भने सबैभन्दा सजिलो विषय नेपाली | अहिले त्यो उल्टिएको छ | यो अवस्था सिर्जना हुनु दुर्भाग्यपूर्ण छ | निःसन्देह नै हाम्रा विद्यार्थीहरू अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा खरो रूपमा उत्रिन सक्ने हुनु पर्दछ | तथापि नेपाली भाषा मासेर अङ्ग्रेजीको मात्र दक्षता हैन; मातृभाषा, नेपाली र अङ्ग्रेजीमा समानान्तर रूपमा उत्कृष्ट दखल राख्ने नागरिक तयार गर्नु पर्छ शिक्षालयले | घरबाट चाँडै अंग्रेजी सिकाउन सुरु गर्ने र मातृभाषालाई बेवास्ता गर्ने मनोवृतिलाई चर्चित भाषा विज्ञ डा. टोभे स्कुटनाव कांगासले ‘अर्ली स्टार्ट फ्यालसी’ (चाँडै सुरुवातको भ्रम) भन्नु भएको छ | तसर्थ तीनै तहका सरकारले शिक्षामा बहुभाषिक नीति लागु गर्नु पर्दछ | साहित्यमा नयाँ पुस्ताको रुचि जगाउनको लागि स्रष्टा-विद्यार्थी अन्तर्संवाद तथा अन्तरक्रिया कार्यक्रम सञ्चालन गर्नु पर्छ | हरेक पालिकाले प्रज्ञा प्रतिष्ठान गठन गरी स्थानीय परिवेश सुहाउँदा साहित्यिक गोष्ठी, अभियान, प्रतिस्पर्धा, सम्मान तथा पुरस्कारको स्थापना जस्ता गतिविधिहरूलाई अघि बढाउनु पर्छ |”

निचोड
विद्यार्थीहरूले नेपाली साहित्यमा रुचि राख्ने कुरामा दुई मत छैन | उनीहरू कविता, कथा, गीत, निबन्ध तथा उपन्यास पढ्न रुचाउँछन् | तर नेपाली कमजोर भएको कारणले साहित्य सिर्जना गर्न तर्सिन्छन् | नेपाली कमजोर हुने कारक तत्त्व विद्यालय नै हो भन्ने उनीहरूको ठम्याई छ | अभिभावक र विद्यालयको अंग्रेजी मोहले नेपाली भाषालाई तिरस्कार गरेको देखिन्छ | फलस्वरूप आफ्नै मातृभाषामा कमजोर बन्नु पर्ने अवस्था सिर्जना भएको छ | शिक्षकहरू पनि विद्यालयले अवलम्बन गरेको भाषिक नीतिसँग सहमति राख्दैनन् | अभिभावकहरूको भ्रम चिरेर शिक्षामा सही भाषिक नीति लागु गर्न शिक्षालय तथा सरकार चुकेको धारणा राख्छन् शिक्षाविद् तथा साहित्यकारहरू | नयाँ पुस्तामा साहित्यप्रति बढाउने काममा उत्साहित ढङ्गले प्रज्ञा प्रतिष्ठान, आमसञ्चार माध्यम तथा तीन तहका सरकारले नसकेको कुरामा एकमत छन् उनीहरू | साहित्यमा विद्यार्थीहरूलाई आकर्षित गर्न स्रष्टा-विद्यार्थी अन्तर्संवाद प्रभावकारी हुन सक्ने देखिन्छ |