काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले कसैले राजीनामा माग्दैमा दिन नसकिने बताएका छन् ।
मंगलवार ललितपुरमा आयोजित शहीद विकास महर्जनको सालिक अनावरण कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
आफूहरूलाई जनताले दुई तिहाइको म्याण्डेट दिएर पठाएकाले कसैले राजीनामा माग्दैमा दिन नसकिने स्पष्ट पारे । उनले इतिहास र जनमतलाई कसैले फेर्न नसक्ने भन्दै जनताको अटुट विश्वासलाई कदर गर्दै अघि बढ्ने बताए ।
उनले आफूहरू राजनीति गरेर शासन गर्न नभई विशुद्ध सेवा गर्ने भावले सरकारमा आएको दाबी गरे ।
उनले भने,‘अघिनै मैले भनेको थिएँ, इतिहास हो । फेर्न सकिँदैन हजुर, इतिहास हो । नेपाली जनताले दुई तिहाइ बहुमत दिएर जाऊ काम गर भनेर हामीलाई दिएको विश्वास हो, फेर्न सकिँदैन हजुर । राजीनामा पनि दिन सकिँदैन । हामीलाई किनभने उहाँहरूले जिताएको होइन, नेपाली जनताले जिताएको हो हामीलाई । त्यही भएर हजुरका आशीर्वाद लिएर हामी तपाईँहरूको सेवामा आएका छौँ । तपाईंहरुलाई राजनीति गरेर राज गर्न आएका होइनौँ हामी, हामी सेवा गर्न आएका हौँ । र सम्पूर्ण गृह प्रशासन तपाईँहरूको सेवामा लाग्नेवाला छ भनेर म तपाईंहरुलाई प्रमिस पनि गर्न चाहन्छु ।’
गृहमन्त्री गुरुङले आगामी दिनमा सम्पूर्ण गृह प्रशासनलाई जनताको सेवामा पूर्ण रूपले परिचालन गर्ने प्रतिबद्धता समेत व्यक्त गरेका छन्।






