काठमाडौँ । आठौँ महिला तथा पुरुष भलिबल च्याम्पियनसिप अन्तर्गत महिलातर्फको खेलमा एभरेष्ट भलिबल क्लबले विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई पराजित गरेको छ ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा आज भएको पहिलो खेलमा एभरेष्टले त्रिभुवन आर्मी क्लबलाई ३-१ को सेटमा पराजित गर्यो । एभरेष्टले खेलको पहिलो सेट २४-२६ ले गुमाए पनि त्यसपछिको सबै सेट आफ्नो पक्षमा पार्यो । एभरेष्टले आर्मीमाथि २५-१७, २५-१९ र २५-२२ को जित निकाल्यो ।
जितसङै एभरेष्टले दुई खेलबाट छ अङ्क जोडेको छ । पहिलो खेलमा एभरेष्टले कर्णाली प्रदेशलाई ३-० सेटले हराएको थियो ।
नेपाल भलिबल सङ्घको आयोजनामा भएको उक्त प्रतियोगिताका विजेता टोलीले रु पाँच लाख तथा उपविजेताले रु दुई लाख ५० हजार पाउनेछन् भने तेस्रो हुने टोलीले रु एक लाख २५ हजार प्राप्त गर्नेछ ।







