काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद हरि ढकालले मन्त्रालयहरूमा योजना माग्नेहरूको भिडका कारण यस पटक पनि पुरानै प्रवृत्तिको बजेट आउने देखिएको बताएका छन् ।
आगामी आर्थिक वर्षको बजेटको सिद्धान्त र प्राथमिकताका सम्बन्धमा संसदमा छलफल सकिएको स्मरण गर्दै उनले मन्त्रालयहरूमा बजेटको सिलिङको काम भइरहेको बताए । यही बेला योजना माग्नेहरूको मन्त्रालयमा भिड लाग्न थालेको बताए ।
‘मन्त्रालयहरूमा हाटबजार लाग्याजस्तो भएको छ योजना माग्नेहरूको’ सांसद ढकाल भन्छन्, ‘ती योजनाहरू प्रक्रिया पुगेर गएका छैनन् । लेटरहेडको चिर्कटो वा डायरीमा टिपेको चिर्कटो प्रस्तुत हुने गरेको छ ।’
हाल मन्त्रालयहरूमा देखा परेकै जस्तो शैलीका कारण योजनाहरू असरल्ल हुने गरेको र फेरि पनि पुरानै प्रवृत्ति दोहोरिन सक्ने भन्दै उनले मन्त्रीहरूको ध्यानाकर्षण गराएका छन् ।







