काठमाडौँ । जिल्लाको गण्डकी गाउँपालिका-५ का १९ जना किसानलाई ५० प्रतिशत अनुदानमा हाते ट्र्याक्टर वितरण गरिएको छ ।
गाउँपालिकाका अध्यक्ष दीपक तिमल्सिनाका अनुसार वडा कार्यालयमार्फत किसानसँग ५० प्रतिशत लागत साझेदारीमा हाते ट्र्याक्टर खरिद गरेर वितरण गरिएको हो । कृषिलाई आधुनिकीकरण गर्दै उत्पादन वृद्धिमा टेवा पुर्याउन आधुनिक औजार अनुदानमा उपलब्ध गराउने पालिकाको नीतिअनुरूप हाते ट्याक्टर प्रदान गरिएको छ । “खेती गर्न गाउँमा गोरु पाइनै छाडेका छन्,” उनले भने, “अब कृषिलाई प्रविधिमैत्री बनाउँदै जानुपर्छ, गोरुको अभावमा खेतबारी बाँझै नहुन् ।”
अध्यक्ष तिमल्सिनाले परम्परागत खेती प्रणालीबाट कृषिमा लगानी बढी र उत्पादन कम हुने भएकाले पनि किसानले लाभ लिन नसकेका बताए । “परम्परागत खेती प्रणालीले उत्पादन बढाउन सकिँदैन,” उनले भने, “अब लागत कम गरेर उत्पादन वृद्धि गर्नुपर्छ त्यसका लागि यान्त्रिकीकरण अनिवार्य भएको छ ।”