काठमाडौँ । अर्थमन्त्री वर्षमान पुनले नीतिगत अस्थिरता कम गर्न थोरै क्षेत्रमा मात्रै करका दरहरू हेरफेर गरिएको बताएका छन् ।
नेपाल आर्थिक पत्रकार संघ (नाफिज) ले काठमाडौंमा गरेको आगामी आर्थिक वर्ष २०८१/०८२ को बजेटमाथिको छलफल कार्यक्रममा बोल्दै अर्थमन्त्री पुनले वर्तमान मुलुकको अर्थतन्त्रलाई चलायमान बनाउँदै नीतिगत स्थिरता समेत दिने गरी आगामी आर्थिक वर्षको बजेट आएको बताए ।
उनले सरकारले सार्वजनिक पक्षलाई जोड दिँदै सोही प्रतिबद्धता अनुसार नै बजेट ल्याइएको उल्लेख गरे । उनले मुलुकमा सरकार र अर्थमन्त्री परिवर्तन भए पनि सरकारको नीति र बृहत् सोचमा परिवर्तन नआउने गरी बजेट ल्याएको जानकारी दिए । उनले नयाँ चरणको आर्थिक सुधार गर्ने साझा सोचबाट बजेट आएको भन्दै बृहत् छलफलबाट सोच निर्माण गरी कार्यान्वयन गर्ने प्रतिबद्धता जनाए ।
उनले निजी क्षेत्रसहितको साझा सोचबाट मुलुकको अर्थतन्त्रमा नयाँ चरणको परिवर्तन गर्ने सरकारको प्रतिबद्धता रहेको उल्लेख गरे ।उनले सरकार निजी क्षेत्रको साझा सोच र संकल्पबाट मात्रै नयाँ चरणको सुधार हुनसक्ने दाबी गरे । उनले छिमेकी देशको आर्थिक विकासलाई समेत दृष्टिगत गरेर सरकारका प्राथमिकता बजेटमार्फत सार्वजनिक गरेको उल्लेख गरे ।