काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का महासचिव शंकर पोखरेलले मुलुकमा राजनीतिक परिवर्तन भइसकेकाले त्यसको जगमा समृद्धिको लक्ष्य हासिल गर्न बलियो राष्ट्रिय शक्ति निर्माणमा सघाउन संस्कृतिकर्मीलाई आग्रह गरेका छन् । ।
राष्ट्रिय जनसांस्कृतिक महासंघ नेपालले आज आयोजना गरेको कार्यक्रममा महासचिव पोखरेलले राजनीतिक परिवर्तन भएपछि सबै कुरा पुग्यो भनेर बस्न नहुने उल्लेख गर्दै राजनीतिक परिवर्तन माध्यममात्र भएको र आफूहरूको लक्ष्य समृद्धि र समाजवाद भएको बताए ।
“अहिले समाजमा एक प्रकारको अन्योल पनि सृजना भएको देखिन्छ । लोकप्रियतावाद हाबी भएर गम्भीर विषयले महत्त्व नपाएको स्थिति छ, यस अवस्थामा स्रष्टा र कलाकारले आफ्ना बौद्धिक र सन्देशप्रद रचनाबाट समाजलाई प्रभाव पार्न सक्नुपर्छ । त्यसले एमालेको बलियो राष्ट्रिय शक्ति निर्माणको यात्रालाई पनि सघाउन सक्नेछ ।’’
कार्यक्रममा एमालेका उपमहासचिव विष्णु रिमालले साहित्यकार र कलाकारहरूले समाजलाई युगौँसम्म सकारात्मक ऊर्जा दिन सक्ने क्षमता हुने भएकाले राजनीतिक दललाई पनि स्रष्टाका रचनाले प्रेरणा मिल्ने बताए।
सोही पार्टीका पोलिटब्युरो सदस्य सुजिता शाक्यले आफू पञ्चायतकालमा विद्यार्थी हुँदा सांस्कृतिक अभियानमा जोडिएको सन्दर्भ उल्लेख गर्दै समृद्ध नेपाल, सुखी नेपालको राष्ट्रिय आकांक्षाका साथ दिन स्रष्टाहरूलाई आग्रह गरे ।
कार्यक्रममा महासंघका अध्यक्ष प्रेमनाथ अधिकारीले गत वैशाख ८ देखि १० गतेसम्म ललितपुरको गोदावरीमा सम्पन्न राष्ट्रिय परिषद् सदस्यको महाधिवेशनमा कलाकर्मीले सृजनाका माध्यमबाट साथ दिएको अवगत गराए ।