काठमाडौँ । कोशी प्रदेशका पूर्वमुख्यमन्त्री केदार कार्कीले वर्तमान सरकारविरुद्ध आन्दोलन गर्ने घोषणा गरेका छन् ।
बुधबार विराटनगरमा पत्रकार सम्मेलन गर्दै आठ बुँदे माग सार्वजनिक गरेका कार्कीले सम्बोधन नभए आन्दोलन गर्ने घोषणा गरेका हुन् ।
कार्कीले आफ्नो नेतृत्वमा सरकार हुँदा सुरु भएका महत्वपूर्ण योजनालाई समावेश गर्न माग गरेका छन् । उनले १० वर्षमुनिका बालबालिकाको निःशुल्क उपचार, जनावारमैत्री जंगल, महिला स्वयंसेवकलाई प्रोत्साहन कार्यक्रम, केशलीया करिडोर निर्माण, विपन्न विद्यार्थीलाई छात्रवृत्ति, सुकुमवासीलाई जग्गा खरिदमा ब्याज अनुदान र प्रदेशमा सगरमाथा दिवस मनाउने कार्यक्रम सम्बोधन गर्न माग गरेका छन् ।
आफ्नो नेतृत्वमा सुरु भएका राम्रा कामलाई अभिछिन्न उत्तराधिकारी रहने यो सरकारले पनि अघि बढाउनुपर्ने उनको माग छ ।
‘सेटिङमा बजेट हाल्दा कमिसन आउँछ, जनतामा जाँदा आउँदैन भनेर प्रदेशमा बजेट बनाइयो,’ उनले भने, ‘सरकार भनेको सरकार नै हो । जनताको मुद्दा उठाउन जो सरकारमा भए पनि कम्प्रमाइज गर्नु हुँदैन ।’
केन्द्रीय समीकरण अनुसार कोशीमा एमाले नेतृत्वको सरकारमा कार्कीको दल काँग्रेस पनि सहभागी हुँदैछ । आफ्नो पार्टी सरकारमा सहभागी भए पनि जनताको माग उठाउन नछोड्ने कार्कीले बताए ।
कार्कीले बजेटसँग अनसन्तुष्टि जनाउँदै आन्दोलन गर्ने बताए पनि प्रदेशको बजेट भने असार दोस्रो साता नै पारित भएको थियो । बजेट पारित भए पनि मन्त्रिपरिषद् बैठकबाट आफ्नो माग सम्बोधन गर्नुपर्ने उनको भनाइ छ ।







