काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्र, राष्ट्रियता र राष्ट्रको स्वाधीनताको रक्षा गर्ने विचार, शक्ति र नेतृत्व माओवादी मात्रै रहेको बताएका छन्।
झापाको बिर्तामोडमा आइतबार आयोजित प्रशिक्षण तथा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै दाहाले भ्रष्टहरूलाई परास्त गर्दै सुशासन र सामाजिक न्यायलाई विजयी बनाउन र समाजवाद निर्माण गर्न पार्टीले नयाँ अभियान सुरु गरेको बताए।
सरकारमा जानका लागि समीकरण बनाउने खेलमा नलाग्ने उनले बताए। अध्यक्ष दाहालले प्रतिक्रियावादी र अवसरवादीहरूले माओवादी र जनताविरुद्ध षड्यन्त्र गरिरहेको पनि उल्लेख गरे। वामपन्थी एकताका लागि आफूले धरै जोखिम मोले पनि अन्त्यमा आफैँ मूर्ख भएको उनले बताए।
कार्यक्रममा झापाका पुराना वामपन्थी नेता लोकबन्धु कन्दङ्वासहितका नेता कार्यकर्ता माओवादीमा प्रवेश गरेका थिए। कन्दङ्वा दुई वर्षअघि नेकपा एकीकृत समाजवादीको केन्द्रीय सदस्यबाट राजीनामा दिएर स्वतन्त्र वामपन्थी बुद्धिजीवीको रूपमा सक्रिय रहेका थिए।