धनगढी । नेपाली काँग्रेसका नेता डा. शेखर कोइरालाले काँग्रेस-एमालेको सहमतिमा बनेको वर्तमान सरकारलाई असफल हुने छुट नरहेको बताएका छन्।
शुक्रबार धनगढी विमानस्थलमा पत्रकारसँग कुराकानी गर्दै उनले संविधान संशोधन, आर्थिक विकास र सुशासनका लागि दुई ठुला दल मिलेर सरकार गठन भएकाले सोही अनुसार जनपक्षी काम गर्नुपर्नेमा जोड दिए । “यो सरकार संविधान संशोधन, आर्थिक विकास र सुशासनका लागि बनेको हो । संसद्का ठुला दुई दलबीचको सात बुँदे सहमति भएबमोजिम सरकार चल्नुपर्छ । अहिले सहमतिअनुसार काम नभएको हो कि भन्ने ढंगले कुरा भइरहेको छ । यस्तो हुनुहुँदैन”, नेता कोइरालाले भने ।
उनले पार्टी सभापति शेरबहादुर देउवासँग आफ्नो कुनै असमझदारी नरहेको पनि स्पष्ट पारे। नेता कोइराला पार्टीका शुभेच्छुक संगठनद्वारा आयोजना हुने कार्यक्रममा सहभागी हुन शुक्रबार त्यहाँ पुगेका हुन् । उनलाई नेता कार्यकर्ताले १५ किलोग्राम फूलको मालासहित भव्य स्वागत गरेका थिए ।