काठमाडौँ । सशस्त्र प्रहरी बलमा कार्यरत चार डिआइजी पाँच दिनभित्र अवकाशमा जाने भएका छन् । म्याद थप गर्ने प्रस्ताव मंगलबारको मन्त्रिपरिषद्ले स्वीकृत नगरेपछि उनीहरू अवकाश जाने भएका हुन् । ।
सशस्त्र प्रहरी प्रधान कार्यालय हलचोकको सिफारिसका आधारमा गृह मन्त्रालयले मन्त्रिपरिषद्मा दर्ता गरेको उक्त प्रस्ताव पारित नभएको बताइएको छ ।
मन्त्रालयले सशस्त्रको डिआइजीका रूपमा चार वर्षे कार्यकाल पूरा गरेका शम्भु सुवेदी, कमल गिरी, गणेश ठाडा मगर र कुलबहादुर नेम्वाङको एक वर्ष म्याद थपका निम्ति एक साताअघि नै मन्त्रिपरिषद्मा प्रस्ताव पठाएको थियो । संगठन स्थापनाताका सेना र प्रहरीबाट समायोजित भएका अधिकृतहरूले हालसम्म संगठनको नेतृत्व गर्दै आएका छन् ।
अहिले म्याद थप्न सिफारिसमा परेका डिआइजीको म्याद थप नभए उनीहरू पाँच दिनपछि अर्थात् पुस २३ गते मध्यरात अवकाशमा जानेछन् ।







